नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनअन्तर्गत सिराहा जिल्ला कार्यसमितिको सोमबार गोलबजारमा सम्पन्न निर्वाचनको मंगलबार बिहानदेखि मतगणना हुँदै छ । कांग्रेस जिल्ला निर्वाचन समितिका अधिकृत सञ्जीव लामाका अनुसार मंगलबार बिहानदेखि गोलबजारस्थित जनता (नमुना प्राविधिक धार) विद्यालयमा मतगणना सुरु गर्ने गरी तयारी गरिएको भए पनि प्राविधिक तयारी पूरा गर्न समय लाग्ने भएकाले मध्याह्नदेखि मतगणना गरिँदै छ । ‘दुवै प्यानलका जिल्ला सभापतिका प्रत्याशीहरूलाई मतगणना थालनीका लागि आवश्यक प्रक्रिया पूरा गर्न बोलाएका छौँ,’ निर्वाचन अधिकृत लामाले नयाँ पत्रिकासँग भने, ‘खसेको मतपत्र रुजुसहित आवश्यक प्रक्रिया पूरा गरेर मध्याह्नदेखि मतगणना थाल्छौँ ।’
उनका अनुसार जिल्लाको १७ स्थानीय तहका दुई हजार ६ सय ७० मतदातामध्ये सोमबार साँझसम्म करिब दुई जार चार सयजनाले मतदान गरेका छन् । जिल्ला कार्यसमितिको कुल ७९ पदका लागि निवर्तमान सभापति रामचन्द्र यादव र सभापति पदका अर्का प्रत्याशी रामसुन्दर चौधरी प्यानलका गरी एक सय ५८ जनाको उम्मेदवार रहेको उनले बताए । उम्मेदवार दिएकामध्ये अल्पसंख्यक/ अपांगमा चौधरी प्यानलका दुईजना र भूगोलबाट यादव प्यानलका दुईजना गरी चारजना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
जिल्ला कार्यसमितिको एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव, मधेसी सदस्य खुला आठ, मधेसी महिला सदस्य सात, दलित खुला सदस्य तीन, दलित महिला सदस्य तीन, जनजाति खुला सदस्य दुई, जनजाति महिला सदस्य एक, मुस्लिम खुला र महिला सदस्य गरी दुई, खस आर्य सदस्य एक, थारू सदस्य एक, केन्द्रीय महाधिवेशन प्रतिनिधि अपांग एक, १७ स्थानीय तहका खुला एक र महिला सदस्य गरी एक सय ५८ जना प्रत्याशी रहेका छन् ।
मतपत्रको अर्धकट्टी, नम्बरिङ छैन, धाँधलीको आरोप
जिल्ला कार्यसमितिका सभापति पदका प्रत्याशी चौधरी र लहान नगर सभापति रासलाल रायले सोमबार अपराह्न करिब साढे ४ बजेतिर खाली मतपत्र च्यातेपछि प्रहरीले हस्तक्षेप गरी स्थिति साम्य बनाएको निर्वाचन अधिकृत लामाले बताए । शान्तिपूर्ण ढंगले मतदान भइरहेका वेला सभापति पदका प्रत्याशीसहितले मतपत्र च्यातेपछि केही समय होहल्ला भयो, तर स्थिति साम्य बनाएर पुनः मतदान सुचारु गरिएको थियो ।
प्रहरीले हस्तक्षेप गर्दा रायसहित राजेश थापा सामान्य घाइते भएको निर्वाचन क्षेत्र नं. १ क का प्रदेश सभा सभापति सन्तोष उपाध्यायले बताए । लहान नगर सभापति रायले मतपत्रको अर्धकट्टी, नम्बरिङसमेत नराखी निर्वाचन अधिकृतको छाप बनाएर मतपत्र दिइएकाले सेटिङमा धाँधली गरिएको आरोप लगाए । मतदान चलिरहेका वेला सोमबार दिनभर गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जु खाण मतदानस्थलमा बसेर आफ्नै निर्देशनमा यादव प्यानललाई निर्वाचित गराउन भूमिका खेलेको रायको आरोप छ ।
यादव प्यानलले भने निर्वाचनमा पराजित हुने निश्चित भएपछि शान्तिपूर्ण ढंगले भएको मतदानको विषयमा अनर्गल प्रचार गरी नेता–कार्यकर्तामा भ्रम फैलाउन खोजेको भन्दै सजग रहन आग्रह गरेको छ ।