पिपल्स च्वाइसका खेलाडी सार्वजनिक

सोमबार, २३ फागुन, २०७८
डिजिटल संस्करण

नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्टस् अवार्ड २०७७ को पिपल्स च्वाइस अवार्डतर्फका मनोनीत खेलाडी आइतबार सार्वजनिक गरिएको छ । मञ्चले एक कार्यक्रमबीच यस विधामा मनोनीत भएका पाँचजना खेलाडी सार्वजनिक गरेको हो । विधामा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तम्बापो सुब्बा, टेबुल टेनिसबाट एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल तथा ब्याडमिन्टनका प्रिन्स दाहाल रहेका छन् । पिपल्स च्वाइस विधाका विजेताको घोषणा खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिनेछ ।

मञ्चले गत वर्षजस्तै भोटिङका लागि विद्युतीय भुक्तानी गर्न चर्चित र विश्वासिलो सेवाप्रदायक कम्पनी ई–सेवासँग प्रायोजन सम्झौता गरेको छ । ब्याडमिन्टनका प्रिन्स विश्व जुनियरको वरीयतामा शीर्ष स्थानमा छन् । यसै वर्ष उनले घरेलु ब्याडमिन्टनमा पनि दबदबा राख्दै सिन्धुपाल्चोकमा सिनियर खेलाडी रत्नजित तामाङलाई हराउँदै उपाधि जितेका थिए । यसैगरी, उनले पुष्पलाल स्मृति वरीयता राष्ट्रिय ब्याडमिन्टनमा सिनियरतर्फ लगातार दुईपटक उपाधि जिते । साइनो कप राष्ट्रिय ब्याडमिन्टनमा समेत उनले शीर्ष स्थान हात पारेका थिए । २०२४ ओलम्पिक प्रोजेक्टका लागि नेपालबाट प्रिन्स छनोट भएका छन् । 

क्रिकेटमा गत वर्ष कुशलको नाम निकै चर्चामा रह्यो । राष्ट्रिय टोलीबाट डेब्यु गरेको वर्षमै कुशलले आफ्नो क्षमता देखाउन सफल भए । उनले ११ वटा अन्तर्राष्ट्रिय टी–२० मा एक शतक र पाँच अर्धशतकसहित चार सय ९८ रन बनाएका छन् । यसैगरी, ६ एकदिवसीय अन्तर्राष्ट्रियमा एक अर्धशतकसहित एक सय ४४ रन जोडेका कुशल आइसिसी टी–२० वरीयताको ३१औँ स्थानमा छन् । आइसिसीको वरीयतामा कुनै पनि नेपालीले प्राप्तको गरेको स्थान यो नै सर्वाधिक ठूलो हो । 

पिपल्स च्वाइसमा मनोनीत भएकी सन्तोषी नेपालको म्याराथनको मध्यमगतिकै राम्रो धाविका मानिन्छिन् । उनले १३औँ सागदेखि २०७८ को प्रधानसेनापति हाफ म्याराथनसम्म सहभागी भएका नौवटै प्रतियोगिता स्वर्ण जितेकी छिन् । नेपालगन्जमा सम्पन्न हाफ म्याराथनमा स्वर्ण जित्दा सन्तोषीले एक घन्टा १८ मिनेट ४८ सेकेन्ड लगाइन् । १३औँ सागमा १० हजार मिटरकी स्वर्णधारी सन्तोषी गोल्डेन स्प्रिन्ट मिटका उत्कृष्ट खेलाडी हुन् । 

यसैगरी, फुटबलकी एन्जिला राष्ट्रिय टोलीकी पहिलो रोजाइकी गोलरक्षक हुन् । २०७७ मा भएको राष्ट्रिय महिला लिगमा एपिएफले उपाधि उचाल्दा गोलरक्षक भूमिका निर्वाह गरेकी एन्जिलाले १२ खेलमा एक मात्र गोल व्यहोरेकी थिइन् । पाकिस्तानी राष्ट्रिय लिग च्याम्पियनसिपमा मासा युनाइटेडबाट प्रतिस्पर्धा गरेकी एन्जिलाको जीवनमा आधारित फिल्म बनिरहेको छ । मनोनयनमा टेबुल टेनिसकी एलिना नेपालको वरीयतामा दोस्रो स्थानमा छिन् । 

१८औँ संस्करणको अवार्डमा सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पाराएथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड रहेका छन् । यस वर्ष पनि एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहेको छ । दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । विधाका विजेतालाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । 

सुझावित समाचार