कार्यसम्पादन मूल्यांकनमा महानगरभन्दा गाउँपालिका अगाडि

आइतबार, २२ फागुन, २०७८
डिजिटल संस्करण

प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा करिब दुई सय स्थानीय तहले ५० अंक पनि ल्याएनन्, ४२ तहले ७० भन्दा बढी ल्याए, जसमा एउटै महानगर र उपमहानगर परेनन् 

कार्यसम्पादन मूल्यांकनमा महानगरपालिकाभन्दा गाउँपालिका अगाडि देखिएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकन सूचक रिपोर्टअनुसार ४२ तहले सय अंकभारमा ७० भन्दा बढी अंक प्राप्त गर्दा एउटा पनि महानगरपालिका र उपमहानगरपालिका परेका छैनन् । ४० भन्दा कम अंक ल्याउने २४ स्थानीय तहमा भने एउटा उपमहानगरपालिका पनि परेको छ । 

आयोगको प्रतिवेदनअनुसार दुई सय ४९ स्थानीय तहले ६० भन्दा बढी अंक ल्याएका छन् । ७० भन्दा बढी अंक ल्याउने तह ४२ ओटा छन् । सबैभन्दा बढी डडेल्धुराकोे अजयमेरु गाउँपालिकाले ७८.६९ अंक प्राप्त गरेको छ । त्यस्तै, कन्चनपुरको भिमदत्त नगरपालिकाले ७६.३८, कैलालीको कैलारी गाउँपालिकाले ७६.४९, हुम्लाको सिमकोट गाउँपालिकाले ७५.३१, गुल्मीको धुर्कोट गाउँपालिकाले ७६.५४, मुस्ताङको लो–घेकर दामोरकुण्ड गाउँपालिकाले ७७.११ र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ७५.१८ अंक ल्याएका छन् । 

१ सय ९६ स्थानीय तहले ५० भन्दा कम अंक ल्याएका छन् । २४ वटाले ४० अंक पनि ल्याउन सकेका छैनन् । धादिङको गल्छी गाउँपालिकाले सबैभन्दा कम ३५ अंक ल्याएको छ । त्यस्तै, जुम्लाको कनकासुन्दरी गाउँपालिकाले ३५.६९, बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले ३५.१७, महोत्तरीको सोनमा गाउँपालिकाले ३५.८२ र  सप्तरीको छिन्नमस्ता गाउँपालिकाले ३५.०४ अंक ल्याएका छन् ।  

सम्बन्धित स्थानीय तह र  निकायबाट प्राप्त तथ्यांक समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको हो । कार्यसम्पादन मूल्यांकन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएका थिए । समयमै बजेट पेश गरे/नगरेको, असार मासन्तभित्र बजेट पास गरे/नगरेको, राजस्व बाँडफाँट गरे/नगरेको, आगामी आवको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे/नगरेको विषयमा मूल्यांकन गरेको थियो । त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे/नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्यालगायत शिर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो । 

आयोगले संघीय संचित कोषबाट स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिसका लागि कार्य सम्पादन मूल्यांकन गरेको हो । यहि मूल्यांकनका आधारमा आयोगले आर्थिक वर्ष २०७९/८० का लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस गर्ने छ ।

समयमा बजेट आउँदैन, आवधिक योजना बन्दैन
स्थानीय तहमा समयमै बजेट नल्याउने, बजेट पास नगर्ने तथा आवधिक योजना नबनाउने प्रवृत्ति देखिएको छ । तोकिएको समय अर्थात् १० असारमा पालिकासभामा बजेट पेश नगर्ने पालिकाको संख्या ९५ ओटा रहेको वित्त आयोगको प्रतिवेदनमा उल्लेख छ । आफ्नो क्षेत्राधिकारका विषयमा विकासको लागि आवधिक योजना तयार नगरेका स्थानीय तहको संख्या ४ सय ५१ छ । त्यस्तै, ७४ तहले तोकिएको समय अर्थात् असार मासन्तसम्ममा बजेट पास नगरेको प्रतिवेदनमा उल्लेख छ । 

कुनै पनि महानगरले कटाएनन् ६० अंक
१. भरतपुर महानगरपालिका (चितवन) : ५१.०८
२. ललितपुर महानगरपालिका (ललितपुर) : ५१.४१
३. काठमाडौं महानगरपालिका (काठमाडौं) : ५६.१७
४. पोखरा महानगरपालिका (कास्की) : ५९.४६ 
५. वीरगन्ज महानगरपालिका (पर्सा) : ४८.६४
६. विराटनगर महानगरपालिका (मोरङ) : ५५.५७

उपमहानगरपालिका ७० भन्दा कम अंकमै सीमित
१. धरान उपमहानगरपालिका (सुनसरी) : ५२.९१
२. इटहरी उपमहानगरपालिका (सुनसरी) : ५३.४४
३. हेटौँडा उपमहानगरपालिका (मकवानपुर) : ४५.७३ 
४. जनकपुरधाम उपमहानगरपालिका (धनुषा) : ५३.६५ 
५. कलैया उपमहानगरपालिका (बारा) : ४८.१३
६. जितपुर–सिमरा उपमहानगरपालिका (बारा) : ३५.७१
७. बुटवल उपमहानगरपालिका (रुपन्देही) : ६६.०३े
८. घोराही उपमहानगरपालिका (दाङ) : ६०.८८
९. तुल्सीपुर उपमहानगरपालिका (दाङ) : ६४.४१ 
१०. नेपालगन्ज उपमहानगरपालिका (बाँके) : ६४.२४ 
११. धनगढी उपमहानगरपालिका (कैलाली) : ६८.८८ 

सबैभन्दा बढी अंक ल्याउने पाँच पालिका 

१. अजयमेरु गाउँपालिका (डडेल्धुरा) : ७८.६९
२. लो घेकर–दामोरकुण्ड गाउँपालिका (मुस्ताङ) : ७७.११
३. कैलारी गाउँपालिका (कैलाली) : ७६.४९
४. भीमदत्त नगरपालिका (कञ्चनपुर) : ७६.३८
५. धुर्कोट गाउँपालिका (गुल्मी) : ७६.५४ 

सबैभन्दा कम अंक ल्याउने पाँच पालिका 
१. गल्छी गाउँपालिका (धादिङ) : ३५
२. जितपुर–सिमरा उपमहानगरपालिका (बारा) : ३५.१७
३. सोनमा गाउँपालिका (महोत्तरी) : ३५.८२
४. छिन्नमस्ता गाउँपालिका (सप्तरी) : ३५.०४
५. कनकासुन्दरी गाउँपालिका (जुम्ला) : ३५.६९

सुझावित समाचार