जथाभावी क्याप्सन र शीर्षक लेखेर सामाजिक सञ्जालमा भिडियो तथा तस्बिर अपलोड नगर्न नेपाल प्रहरीको साइबर ब्युरोले अनुरोध गरेको छ। ब्युरोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत गराएको हो।
हाल गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्य भइरहेको र त्यसलाई समेत बिथोल्ने गरी भ्रामक र झुटा क्याप्सन राखी भिडियो तथा तस्बिर युट्युब र टिकटकमा अपलोड भएकोप्रति ब्युरोले ध्यानाकर्षण भएकाे जनाएको हो।
यस्ताखाले भिडियो सामग्रीले समाजमा अफवाह फैलाउने, भ्रम सिर्जना गर्ने, व्यक्तिको गोपनीयता हनन गर्ने, पीडितको मानसिक स्वास्थ्यमा असर पर्नेजस्ता नकारात्मक असर पर्ने उल्लेख गर्दै ब्युरोले यसरी भिडियो सामग्री सामाजिक सञ्जालमा अपलोड नगर्न अनुरोध गरेको छ। यसो गरेमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही हुने ब्युरोले जनाएको छ।
