निर्माणसँग सम्बन्धित विभिन्न विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरिने नेपाल बिल्डकन इन्टरनेसनल एक्सपो २७ देखि २९ फागुनमा हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्यचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपले यसअघि आयोजना गर्दै आइरहेको यो प्रदर्शनी सातौँ वर्षमा भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।
प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी ब्रान्डका एक सय ५० भन्दा बढी स्टल रहने आयोजकले जनाएका छन् । यसमा निर्माण कम्पनी, डिलर, सबडिलर र विक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिका बारेमा जानकारी गराउने जनाइएको छ । विगत ६ वर्षदेखि आयोजना हुँदै आएको यो प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरीहरू, हेभी इक्युपमेन्ट, प्रिफ्याब स्ट्रक्चर, युपिभिसी झ्याल तथा मेसिनरी, युपिभिसी प्रोफाइल, झ्याल र ढोकाहरू, आर्टिटेक्टरल हार्डवेयर, बाथरुप फिटिङ राखिने आयोजकको भनाइ छ ।
त्यस्तै, पाइपहरू, टाइल्स र सेनिटरिवेयर, रुफिङ, प्रि–इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, कंक्रिट ब्यलक मेसिनरी निर्माताहरू, अर्थ मुभिङ इक्युपमेन्ट्स, मेटेरियल ह्यान्डलिङ इक्युपमेन्टर, एलुमिनियम कम्पोजिट प्यानलहरूको पनि सहभागिता रहने जनाइएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले प्रदर्शनीमा टाइटल स्पोन्सर हुलास स्टिल इन्डस्ट्रिज रहने बताए । अन्य सहयोगी संस्थाहरूमा नेपाल इन्जिनियरिङ एसोसिएसन, नेपाल निर्माण व्यवसायी महासंघ, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स, हेभी इक्युपमेन्ट पार्टस् एसोसिएसन तथा कफिडेरेसन अफ इन्डियन इन्डस्ट्री रहने उनको भनाइ छ । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले जानकारी गराए ।
प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टरस, बिल्डरस, इन्टेरियर डिजाइनर, घर बनाउन चाहने व्यक्ति तथा आमनागरिकको उल्लेखनीय सहभागिता रहने आयोजकले विश्वास व्यक्त गरेका छन् ।