आठ वर्षदेखि प्रयोगमा आएन हुम्डे विमानस्थल

शुक्रबार, २० फागुन, २०७८
डिजिटल संस्करण

पक्की धावनमार्ग बनेको सात वर्षपछि ०७६ भदौ २७ गते हिमाली जिल्ला मनाङमा जहाज पुग्यो । गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले असोज १० गतेदेखि मनाङमा नियमित उडान हुने भाषण गरे । तर, अहिलेसम्म पनि हुम्डे विमानस्थल प्रयोगमा आउन सकेको छैन । 

‘असोज १० गते जहाज आउँछ कि भनेर आकाश हेर्दैमा बित्यो, तर जहाज आएन,’ ङिस्याङ गाउँपालिका–४, हुम्डे मनाङकी विष्णु गुरुङले भनिन्, ‘जहाज आउँछ भनेर भाषण गरेको दुई वर्ष बित्यो, जहाज देख्न पाइएन ।’ हुम्डेमा जहाज चलाउने नेताको प्रतिबद्धता भाषणमै सीमित भएको उनी बताउँछिन् ।

मुख्यमन्त्री, मन्त्री, सांसदले भनेपछि धेरैले असोज १० गतेदेखि नियमित जहाज आउँछ भन्ने ठानेका थिए । तर, मन्त्रीले आश्वासन दिएको दुई वर्ष बित्दा पनि जहाज नआएपछि स्थानीय निराश बनेका छन् । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले जहाज उडान नहुँदा मनाङवासी समस्यामा परेको बताए ।  नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष ०६९/७० मा नौ करोड रुपैयाँ खर्च गरेर धुले धावनमार्गलाई विस्तार गरी कालोपत्रे गरेको थियो । ६ सय मिटरको धावनमार्ग नौ सय मिटर बनाइएको छ । 

धावनमार्ग कालोपत्रे भएपछि तत्कालीन मन्त्री तथा प्राधिकरणका अधिकारीले जहाज चढेर मंसिरमा धावनमार्गको परीक्षण गरेका थिए । ०७० देखि हुम्डे विमानस्थल बन्द थियो । त्यतिवेला निगमले तत्कालीन मन्त्री तथा प्राधिकरणका अधिकारीहरू ल्याएर हवाईजहाज परीक्षण गरेको थियो । त्यसयता वायुसेवा निगमको जहाज मनाङ पुगेकै छैन । 

कालोपत्रे गर्नुअघि वायुसेवा निगमले सातामा दुईपटक पोखरा–मनाङ र मनाङ–पोखरा नियमित उडान भरेको थियो । हरेक वर्ष असार १६ र पुस १६ देखि मौसममा आएको खराबीको कारण देखाई सूचना जारी गरेरै हवाई उडान स्थगित गर्दै आएको थियो । विमानस्थल तीन हजार तीन सय ३० मिटर उचाइमा अवस्थित छ । पोखरा–मनाङ वा मनाङ–पोखरा उडानमा २५ मिनेट लाग्छ । हुम्डेमा ०३९ असोजबाट उडान सुरु गरिएको थियो । कालोपत्रे भएको दुई वर्षपछि तारा एयरको डोर्नियर जहाजले परीक्षण उडान गरे पनि त्यसयता कुनै पनि जहाज मनाङ आएको छैन । 

सुझावित समाचार