बाँकेमा दोस्रो चरणको मतदान आज

शुक्रबार, २० फागुन, २०७८
डिजिटल संस्करण

कांग्रेस बाँके सभापतिको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणको निर्वाचनमा सभापतिका तीनैजना उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि शुक्रबार दोस्रो चरणको मतदान हुन लागेको निर्वाचन अधिकृत चित्रबहादुर शाहीले बताए ।

निर्वाचनमा संस्थापनइतरका नारायणप्रसाद गौडेलले अग्रता लिएका छन् । उनले पाँच सय ६९ मत पाउँदा सभापतिका अर्का उम्मेदवार बादशाह कुर्मीले पाँच सय ३८ र सुरेन्द्रबहादुर हमालले तीन सय १४ मत पाएका छन् । कुर्मी र हमाल संस्थापन पक्षका हुन् ।

दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याउने गौडेल र दोस्रो स्थानमा रहेका कुर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । तेस्रो स्थानमा रहेका हमालले दोस्रो चरणमा कुर्मीलाई समर्थन गर्ने भएका छन् । उनले यसअघि दुवैजना संस्थापन पक्षका उम्मेदवार भएको बताउँदै दोस्रो चरणको निर्वाचन भए एकले अर्कोलाई सघाउने बताएका थिए ।

सभापतिका लागि शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको छ । सभापति पदका लागि मतदान भएपछि सभापतिसँगै अन्य पदको मतगणना हुने निर्वाचन अधिकृत शाहीले बताए । 

सुझावित समाचार