विद्यालयस्तरीय लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)को उपाधि सत्यवती एकेडेमी कैलालीले जितेको छ । कैलालीकै विद्याभूषण पब्लिक स्कुललाई एक सय ६१ रनको विशाल अन्तरले पराजित गर्दै सत्यवतीले प्रतियोगिताको छैटौँ संस्करणको उपाधि उचालेको हो ।
उपाधिसँगै सत्यवती एकेडेमीले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको विद्याभूषणले ७५ हजार रुपैयाँ प्राप्त गर्यो । धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको खेलमैदानमा शनिबार भएको फाइनलमा सत्यवती एकेडेमीले दिएको दुई सय ५१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा विद्याभूषण १२.१ ओभरमा ८९ रनमा समेटियो ।
विद्याभूषणका नुरेन विष्टले सर्वाधिक ३१ रन बनाए । यस्तै, प्रशान्त थापाले १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ सत्यवतीका युवराज खत्री र नीरज भट्टले तीन–तीन विकेट लिए । सन्तोष कार्की र सुजन गौतमले दुई–दुई विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले २० ओभरमा चार विकेट क्षतिमा दुई सय ५० रन बनाएको थियो । सत्यवतीको ब्याटिङमा अन्डर–१९ राष्ट्रिय क्रिकेटरसमेत रहेका ओपनर सन्तोष कार्कीले सर्वाधिक ९८ रनको पारी खेले । ४५ बल सामना गरेका उनले तीन चौका र ११ छक्का प्रहार गरे । यस्तै, खगेन्द्र जोशीले ५१ बलमा १० चौका र तीन छक्कासहित ८३ रन बनाए ।
आदिल अन्सारीले अविजित ३५ तथा सुजन गौतमले १९ रन योगदान दिए । सन्तोष कार्की र खगेन्द्र जोशीले एक सय ८० रनको ओपनिङ साझेदारी गरे । यो प्रतियोगिताकै उच्च साझेदारी हो । चौथो विकेटका लागि आदिल अन्सारी र सुजन गौतमले ५३ रनको साझेदारी गरेका थिए । विद्याभूषणका बलर प्रदीप चन्दले तीन विकेट तथा वीरेन्द्र नाथले एक विकेट लिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी सत्यवती एकेडेमीका सन्तोष कार्की भए । उनले २० हजार रुपैयाँ प्राप्त गरे । यस्तै, उत्कृष्ट ब्याट्सम्यान विद्याभूषणका वीरेन्द्र नाथ र उत्कृष्ट बलर हिमालयन ह्वाइट हाउस काठमाडौंका दीपक बोहरा भए । उदीयमान खेलाडीको उपाधि सत्यवती एकेडेमीका युवराज खत्रीले पाए । यी तीनै विधाका विजेताले १०–१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । लिटल फ्लावर स्पोर्टस् एन्ड इभेन्टस् प्रालिको आयोजनामा गत २ फागुनबाट सुरु भएको प्रतियोगितामा कैलाली, कञ्चनपुर र काठमाडौंका गरी १० वटा विद्यालयका टिमको सहभागिता रहेको थियो ।