बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दुई कारोबार दिनमा बढेको बजार बुधबार दोहोरो अंकले घटेको हो । नेप्से सूचक १५ दशमलव ५० अंकले घटेर दुई हजार सात सय २० दशमलव ४३ बिन्दुमा आइपुगेको छ । बजार करेक्सन भए पनि लगानीकर्ताहरूको जलविद्युत् समूहमै आकर्षण देखिएको छ ।
नेप्सेमा सूचीकृत ४५ मध्ये ३० वटा जलविद्युत् कम्पनीको सेयर मूल्य बढेको छ । दिव्यश्वरी हाइड्रोपावर कम्पनी र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरको सेयर मूल्य बढेर सर्किट लागेको छ । घलेम्दी हाइड्रो लिमिटेड, तेह्रथुम पावर कम्पनी, रुरु जलविद्युत् परियोजनको सात प्रतिशतदेखि नौ प्रतिशतले बढेको छ ।
कारोबारमा आएका १३ वटा समूहको सूचकमा जलविद्युत् समूह र म्युचुअल फन्ड समूह बढेका छन् । बाँकी सबै समूह सूचक घटेका छन् । सबैभन्दा थोरै एक प्रतिशतले मात्रै घट्नेमा ट्रेडिङ समूह, उत्पादनमूलक समूह र होटेल तथा पर्यटन समूहको सूचक छन् । यस दिन प्रभु बैंकको ऋणपत्र २०८४, नेपाल फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै तीन प्रतिशतदेखि करिब चार प्रतिशतसम्मले घट्न पुगेको छ ।
कारोबार रकममा भने सुधार आएको छ । अघिल्ला दिनहरूमा तीन अर्ब हाराहारी कारोबार भइरहेकोमा बुधबार यसमा सीमान्तदरले वृद्धि भएको छ । यस दिन तीन अर्ब १३ करोड रुपैयाँको कारोबार भएको हो । नेपाल टेलिकमको सेयर मूल्य घटे पनि यस दिन सबैभन्दा धेरै रकमको कारोबार हुनेमा यही कम्पनी छ । यसको १९ करोड ३७ लाख रुपैयाँको कारोबार भएको हो । त्यसैगरी, घलेम्दी हाइड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी, नेसनल हाइड्रोपावर कम्पनी, अपी पावर कम्पनीको नौ करोड रुपैयाँदेखि १२ करोड रुपैयाँसम्म सेयर कारोबार भएको छ । त्यस्तै, क वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पाँच दशमलव २२ प्रतिशतले घटेर पाँच सय १६ दशमलव ९३ मा आइपुगेको छ ।
एभरेष्ट इन्स्योरेन्सको ६.३१ प्रतिशत लाभांश प्रस्ताव
एभरेष्ट इन्स्योरेन्स कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफापछि ६ प्रतिशत बोनस सेयर र शून्य दशमलव ३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।