खडेरीका कारण सोमालियामा खाद्य सहायताको आवश्यकता

मंगलबार, १० फागुन, २०७८
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघले सोमालियाका करिब ५५ लाख नागरिकका लागि तत्काल खाद्य सहायता उपलब्ध गराउनुपर्ने बताएको छ। यहाँ अहिलेसम्म करिब ५५ लाख मानिसले खाद्यान्नको अभाव झेलिरहेका र तीमध्ये १४ लाखभन्दा बढी बालबालिका रहेका छन्।

संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले त्यहाँ विकराल बन्दै गएको र खडेरीका कारण लाखौँ मानिस भोकमरीको गम्भीर अवस्था सामना गर्न बाध्य भएका बताएको छ। सोमालियाका लागि राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रतिनिधि आदम अब्देलमौलाले यहाँ अहिले ठूलो संख्याका मानिस खाद्यान्न अभावको चपेटामा परेका र खासगरी खडेरीका कारण यस्तो अवस्था सिर्जना भएको बताएका छन्।

उनले चरम भोकमरीका कारण त्यहाँका पाँच वर्षमुनिका लाखौँ बालबालिकासमेत कुपोषित भएको र तत्काल उपचार नगरे उनीहरूको ज्यानै जान सक्ने बताए। ती बालबालिकाका लागि आवश्यक खाद्यान्न र उपचारका लागि पनि तत्कालै सहयोग आवश्यक रहेको जनाइएको छ।

भोकमरीका कारण त्यहाँका करिब पाँच लाख मानिस खानेकुराको खोजीमा अन्य स्थानमा पलायन भइसकेका छन् भने करिब २९ लाख मानिस देशभित्रै विस्थापित भएका छन्। रासस/सिन्ह्वा

सुझावित समाचार