जलविद्युत् क्षेत्रमा लगानीकर्ता आकर्षित, कारोबार भने तीन अर्ब मात्र

मंगलबार, १० फागुन, २०७८
डिजिटल संस्करण

केही दिनदेखि अमेरिकन सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई आधार बनाएर लगानीकर्ता जलविद्युत् कम्पनीको कारोबारमा सक्रिय भइरहेका छन् । यस्तै प्रभाव सोमबारको सेयर बजारमा पनि देखियो । एमसिसीसम्बन्धी विवादहरू कायम रहे पनि संसद्मा एमसिसीको प्रस्ताव टेबुल भएसँगै जलविद्युत् क्षेत्रका कम्पनीहरूमा पुनः लगानी बढेको छ । 

सोमबार नेप्से २५ दशमलव ४१ अंक (०.९४ प्रतिशत)ले बढेर दुई हजार सात सय १८ दशमलव ५१ बिन्दुमा पुग्दा जलविद्युत् समूहको परिसूचक पनि २ दशमलव २४ प्रतिशतले बढेको छ । नेप्सेमा सूचीकृत सबै हाइड्रोपावर कम्पनीहरूको सेयर मूल्य सोमबार बढेको छ । कारोबार रकमका आधारमा यस दिन प्रमुख पाँचभित्र अरुण भ्याली हाइड्रोपावर, अपि पावर र नेसनल हाइड्रोपावर कम्पनी पनि परेका छन् । यिनको आठ करोडदेखि १० करोड रुपैयाँसम्मको कारोबार भएको छ । 

यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल दूरसञ्चार कम्पनी र जीवन विकास लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको २६ करोड ५० लाख रुपैयाँदेखि २६ करोड रुपैयाँको कारोबार भएको छ । सोमबारको कुल कारोबारमा १७ दशमलव ५५ प्रतिशत हिस्सा यी दुई कम्पनीको रहेको छ । हालै लाभांश घोषणा गरेको जीवन विकास लघुवित्तको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । त्यस्तै, नेपाल टेलिकमको पनि सर्वसाधारण सेयर संरचना बढाइने हल्लाले यसमा लगानी बढेको हो । कम्पनीले भने हालसम्म यसबारे आधिकारिक जानकारी दिएको छैन । 

सोमबार एक सय ५४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ वटाको सेयर मूल्य घटेको छ । युनाइटेड इदी–मर्दी आरबी हाइड्रोपावर कम्पनीको १० प्रतिशतले मूल्य बढेर सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, साहस ऊर्जा लिमिटेडको ६ देखि ८ प्रतिशतसम्मले मूल्य बढेको छ । घट्ने कम्पनीमा सबैभन्दा बढी नबिल बैंकको ऋणपत्र २०८५, कालिका लघुवित्त वित्तीय संस्था, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् । यी कम्पनीहरूको मूल्य करिब २ प्रतिशतले घटेको छ ।  

अघिल्लो दिनको तुलनामा यस दिन कारोबार एक करोड रुपैयाँले घटेको छ । दुई सय २४ कम्पनीको करिब ५० लाख कित्ता धितोपत्र र ऋणपत्र गरी तीन अर्ब रुपैयाँको कारोबार भएको छ । 

See More On

सुझावित समाचार