ब्रिगेड तेस्रोपटक बी डिभिजनमा घटुवा

मंगलबार, १० फागुन, २०७८
डिजिटल संस्करण

ललितपुरको ब्रिगेड ब्वाइज क्लब सहिद स्मारक ए डिभिजन लिगमा तेस्रोपटक रेलिगेसनमा परेको छ । दशरथ रंगशालामा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग ३–२ ले पराजित हुँदै ब्रिगेड १५ वर्षभित्र तेस्रोपटक बी डिभिजनमा घटुवा भएको हो । यसअघि ०६३ र ०६८ मा पनि ब्रिगेड बी डिभिजनमा झरेको थियो । ०६१ मा ब्रिगेड ए डिभिजनमा बढुवा भएको थियो । माथिल्लो डिभिजनमा बढुवा भएसँगै ब्रिगेडले समग्रमा सात सिजन ए डिभिजन लिग खेलेको छ । 

ब्रिगेड रेलिगेसनमा परेसँगै यस सिजनका ए डिभिजन लिगमा रेलिगेसनमा पर्ने दुई टोलीसमेत छिनाफानो भयो । संयोगले योपटक दुवै रेलिगेसनमा पर्ने क्लब ललितपुर जिल्लाकै रहे । ब्रिगेड लिगमा एक खेलअघि नै रेलिगेसनमा परेको हो ।ब्रिगेडको हारले फ्रेन्ड्स तथा पुलिस क्लबले ए डिभिजनको अस्तित्व रक्षा गरेका छन् । गत शनिबार च्यासल क्लब पहिलो क्लबका रूपमा बी डिभिजनमा झरेको थियो । लिगको समग्रमा नौ खेल बाँकी छँदै च्याम्पियन र रेलिगेसनमा पर्ने टोलीको टुंगो लागेको छ । मच्छिन्द्र फुटबल क्लब दुई खेल बाँकी छँदै लिग च्याम्पियनको उपाधि रक्षा गरेको थियो । 

लिगमा ब्रिगेडले एक खेलमा मात्रै जित हात पारेको थियो । ब्रिगेडले लिगको पहिलो चरणमा एपिएफ क्लबलाई ३–२ ले हराएको थियो । सात हार सामना गरेको ब्रिगेडले चार बराबरी नतिजा निकालेको छ । ब्रिगेडले १२ खेलबाट सात अंक जोडेको छ । सातदोबाटो १२ खेलबाट १८ अंक जोडेर पाँचौँ स्थानमा उक्लिएको छ । सातदोबाटोले पूर्वविजेता थ्री स्टार र संकटालाई पछि पारेको हो ।सातदोबाटोलाई रोमाञ्चक जित दिलाउने क्रममा सुशील राई, दीपक ठकुरी र निरज चौधरीले गोल गरेका थिए । ब्रिगेडका लागि बर्टान्ड इवोडे र रोशन रानामगरले गोल गरेका थिए । 

६ मिनेटको अन्तरमा तीन गोल
खेलको १३औँ देखि १८ मिनेटभित्र तीन गोल भएको थियो । खेलकोे १३औँ मिनेटमा सुशीलले सातदोबाटोलाई १–० को अग्रता दिलाए । ब्रिगेडले उत्कृष्ट पुनरागमन गर्र्दै खेलको १६औँ मिनेटमै बराबरी गोल फर्काउन सफल भयो । १६औँ मिनेटमा बर्टान्डले खेललाई १–१ को बराबरीमा ल्याए । १८औँ मिनेटमा दीपक ठकुरीले सातदोबाटोलाई २–१ को अग्रता दिलाए । खेलको ५१औँ मिनेटमा रोशन रानामगरले ब्रिगेडलाई २–२ को बराबरीमा ल्याए । खेलको ८७औँ मिनेटमा निरजले गोल गर्दै सातदोबाटोलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

सुझावित समाचार