बेसीशहर नगरपालिका–३ को बाहुनबेँसीस्थित यशोब्रह्मा माविमा कक्षा १० मा अध्ययनरत १५ वर्षीय किरणले ड्रोन बनाएर उडाएका छन् । चार कक्षामा पढ्दै खेलाउना गाडी बनाएका उनले त्यसपछि लाइट, फोन, वाटरपम्प, इलेक्ट्रिक म्यागेन, एक्साभेटर, डोजर आदिको निर्माण गरिसकेका छन् ।
सुरुका दिनमा किरणले दसैँमा टीका लगाएर पाएको पैसा, स्कुलमा खाजा खान दिएको पैसा जोगाएर विभिन्न सामग्री निर्माण गरेका थिए । ड्रोन बनाउने सोच युट्युब हेरेर आएको उनको भनाइ छ । यो ड्रोन बनाउन करिब ७० हजार खर्च लागेको उनले बताए । ‘ड्रोन तीन किलोमिटर पर र माथि उड्न सक्ने अनुमान छ । दुरी र उचाइ नाप्ने मेसिन खर्च नभएर राख्न सकेको छैन ।’ उनी भन्छन्, ‘यो ड्रोनले औषधि बोक्ने, सभा समारोहमा फूलको वर्षा गराउने, राष्ट्रिय झन्डाको प्रदर्शन गर्नेजस्ता काम प्रयोग गर्न सकिन्छ ।’ यसले डेढ केजीसम्म बोक्न सक्ने उनले बताए । तौल पनि डेढ किलोजति नै छ । खर्च नभएकाले यसमा प्रयोग गरिएका मेसिन पनि कम क्षमताका रहेको उनले सुनाए ।
किरणले ड्रोन तयार गरेको एक महिना भयो । ड्रोन बनाउने सामग्री जुटाउन १० दिन लाग्यो र बनाउन एक महिना लागेको उनले बताए । कक्षा ९ मा पढ्दै गर्दा किरणले बनाएको रिमोट कन्ट्रोल गाडीमा चढेर उनले एक किमिको यात्रा गरेका थिए । त्यसपछि उनका बुबा मदन अधिकारीले खर्च दिन थालेका हुन् । कक्षा ८ मा पढ्दा उनले डोजर बनाएका थिए ।