आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले आज ओमानको सामना गर्दै

शुक्रबार, ६ फागुन, २०७८
डिजिटल संस्करण
आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले आज ओमानको सामना गर्दै

अल अमेरात क्रिकेट मैदानमा नेपाली खेलाडी अभ्यास गर्दै । तस्बिर सौजन्य क्यान

- आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेलमा नेपालले शुक्रबार आफ्नो पहिलो खेलमा आयोजक ओमानविरुद्ध अल अमेरात क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्दै छ, नेपाल रहेको समूह ‘बी’मा ओमान, क्यानडा र फिलिपिन्स छन्

- प्रशिक्षक पुबुदु दासानायकेकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप पहिलोपटक खेलेको थियो । त्यसयता नेपाल विश्वकपमा छनोट भएको छैन । 

नेपाली राष्ट्रिय क्रिकेट पुरुष टोलीले आज ओमानविरुद्ध आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छ । नेपाल र आयोजक ओमानबीच अल अमेरात क्रिकेट मैदानमा ग्लोबल छनोटको पहिलो खेल हुनेछ । ओमानमा हुने छनोट खेलको समूह बीमा नेपाल रहेको छ । समूह बीमा नेपालले ओमान, क्यानडा र फिलिपिन्सविरुद्ध खेल्नेछ । समूह एमा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टोली यसै वर्षको अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकपमा छनोट हुनेछन् । 

सबै खेलाडी फर्ममा छन् : पुबुदु दासानायके, मुख्य प्रशिक्षक, नेपाल

नेपालको स्थिति राम्रो अवस्थामा छ । खेलाडीहरू पनि फर्ममै छन् । फास्टबलर र स्पिनर निकै राम्रा छन्, उनीहरूले चारदेशीय टी–२० सिरिजमा योजनाअनुरूप नै प्रदर्शन गरेका थिए । नेपाल विश्वकप खेल्नमा विश्वस्त छु । 

सन् २०१४ पछि दोस्रोपटक टी–२० विश्वकप खेल्ने सपना साकार पार्ने लक्ष्यका साथ नेपाली टोली गत सातादेखि नै ओमानमा छन् । यो एक साताभित्र नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रबन्ध गरेको चारदेशीय टी–२० सिरिजमा प्रतिस्पर्धा गर्‍यो । नेपालले ओमानलाई मात्र पराजित गरेको थियो । युएई र आयरल्यान्डसँग झिनो रनअन्तरले पराजित भएको नेपालको ब्याटिङ सन्तोषजनक रहेन । नेपाली युवा बलरले टी–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यो टी–२० सिरिज विश्वकप छनोटअघिको तयारीका रूपमा हेरिएको थियो । 

नेपालका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछाने टी–२० विश्वकप छनोटमा ब्याटिङ पक्ष सुधार हुने अपेक्षा राख्छन् । प्रशिक्षक पुबुदु पनि आफ्नो प्रशिक्षणमै नेपाल दोस्रोपटक टी–२० विश्वकपमा छनोट हुने विश्वस्त छन् । उनकै प्रशिक्षणमा नेपाल पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । ब्याटिङमा सुधार आइरहेको बताउँदै पुबुदुले मुख्य प्रतियोगितामा खेलाडीले गल्ती नगर्ने बताएका छन् । 

‘यदि नेपालको स्थिति हेरौँ भने राम्रो अवस्थामा छ, खेलाडीहरू पनि फर्ममै छन्,’ प्रशिक्षक पुबुदुले ओमानस्थित अन्तर्राष्ट्रिय सञ्चारकर्मीलाई भने, ‘विशेष गरी नेपालका फास्टबलर र स्पिनर निकै राम्रा छन्, उनीहरूले योजनाअनुरूप नै प्रदर्शन गरिरहेका छन् ।’ काठमाडौंको चिसोबाट एकैपटक गर्मी मौसम भएको मैदानमा प्रतिस्पर्धा गर्न असजिलो भएको उनले बताए । तर, टी–२० सिरिज र ओमानमा भइरहेको दैनिक अभ्यास खेलाडीहरू वातावरणसँग घुलमेल भएको प्रशिक्षक दासानायकेको भनाइ छ । 

‘टी–२० सिरिजमा सहभागी हुँदा खेलाडीले ओमानको कन्डिसन बुझ्न मौका पाए, यसले नेपाली खेलाडीलाई छनोट प्रतियोगितामा उच्चस्तरको खेलका लागि तयार पार्न मद्दत मिल्यो,’ उनले भने, ‘चारदेशीय सिरिजका तीनवटै खेलमा खेलाडीहरूले राम्रो प्रदर्शन गरे, हामी युएई र आयरल्यान्डविरुद्धको खेलमा जितको नजिक पुगेका थियौँ ।’

अरू देशभन्दा नेपाल बलियो छ : सन्दीप लामिछाने, कप्तान, नेपाल

सिनियर र युवा खेलाडीको राम्रो मिश्रण भएकाले अरू टोलीभन्दा हामी बलिया छौँ । कप्तानीको भूमिकामा मेरो काँधमा धेरै जिम्मेवारी छ । म मात्र नभएर सबैको सपना नै विश्वकप खेल्ने हो । सिनियर खेलाडीहरूले मलाई सहयोग गरिराख्नुभएको छ ।

चारदेशीय टी–२० सिरिजमा नेपालका अनुभवी ब्याट्सम्यानको फितलो प्रदर्शन भएको थियो । नेपालको मध्यक्रमको ब्याटिङ लाइनअपमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरलाई खम्बा नै मानिन्छ । तर, दुवैले सिरिजमा बिर्सनलायक प्रदर्शन गरे । तर, प्रशिक्षक पुबुदुले अनुभवी खेलाडी मुख्य प्रतियोगितामा काम लाग्ने बताएका छन् । 

‘दुवै मुख्य खेलाडीले टी–२० सिरिजमा राम्रो गर्न सकेनन्, तर यस्ता अनुभवी ब्याट्सम्यान तथा खेलाडी मुख्य प्रतियोगितामा काम लाग्छन्,’ मल्ल र भेषवाकरको बचाउ गर्दै उनले भने, ‘टोलीमा अनुभवी खेलाडी कहिलेकाहीँ चुक्दा पछि फर्ममा आउने विश्वास छ ।’ फर्ममा नरहेका मल्ल र भेषवाकरलाई अन्तिम १४ खेलाडीमा समावेश गरी टोली घोषणा हुँदा निकै आलोचना भएको थियो । पुबुदुले टोलीमा यूवा खेलाडीलाई सिनियरहरूको साथ त्यतिकै आवश्यकता रहेको जनाए । 

यसैगरी नेपालका कप्तान लामिछानेले नेपालसँग प्रतिभाशाली र सन्तुलित खेलाडी रहेको बताएका छन् । छनोट प्रतियोगितामा नेपाल उत्कृष्ट दुई टोलीका रूपमा रहँदै विश्वकप छनोट हुने दाबी कप्तान लामिछानेले गरेका छन् । 

‘नेपालको विश्वकपमा छनोट हुने सम्भावना बलियो छ,’ दाबीका साथ लामिछानेले भने, ‘सिनियर र युवा खेलाडीको राम्रो मिश्रण भएकाले अरू टोलीले हामीलाई हराउन कठिन हुनेछ ।’ कप्तानीका रूपमा निकै चुनौती भएको उनले जनाए । ‘कप्तानीको भूमिकामा मेरो काँधमा धेरै जिम्मेवारी छ, यो छनोट स्मरण बनाउन चाहन्छु,’ लामिछानेले अन्तर्राष्ट्रिय मिडियासँग भने ।

टोलीमा सिनियर खेलाडीहरूले साथ दिइरहेका कारण नै नेतृत्वमा खासै समस्या नरहेको उनले बताए । ‘म मात्र नभएर सबैको सपना नै विश्वकप खेल्ने हो, मलाई मेरा सिनियरहरूको पूर्ण समर्थन छ, उहाँहरूले मलाई सहयोग गरिराख्नुभएको छ,’ उनले भने । प्रशिक्षकका रूपमा दासानायकेले जिम्मेवारी सम्हालेपछि टोलीमा बलियो भएको लामिछानेले बताए । ‘पुबुदु सरको नेतृत्वमा खेलाडीहरूले धेरै फाइदा उठाएका छन्, हामी क्वालिफायरका लागि तयार छौँ,’ उनले भने, ‘खेलाडीहरू राष्ट्रको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस गरिरहेका छन् ।’ 

कप्तान लामिछानेले पनि विश्वकप छनोटका लागि चारदेशीय सिरिजले विश्वकप छनोटका लागि सहज बनाएको बताए । ‘चारदेशीय टी–२० सिरिजले खेलाडीको व्यक्तिगत प्रदर्शनदेखि लिएर मैदानको अवस्था बुझ्नसम्म प्रभावकारी भयो,’ उनले भने, ‘हामीले बलिङ, ब्याटिङ र फिल्डिङ सबैमा बिस्तारै सुधार गर्दै गएका छौँ ।’ 

नेपालका मुख्य फास्टबलर करण केसी ढाडको समस्याका कारण टोलीमा छैनन् । उनको स्थानमा अर्का युवा फास्टबलर गुलसन झाले लिएका छन् । योपटक नेपाली टोलीमा लोकेश बमजस्ता युवा खेलाडी छन् । मध्यक्रमका दीपेन्द्रसिंह ऐरी उत्कृष्ट फर्ममा छन् । ऐरीले चारदेशीय टी–२० सिरिजमा देखाएको प्रदर्शनलाई ग्लोबल छनोटमा निरन्तरता दिने अपेक्षा छ । दीपेन्द्रले तीन खेलमा एक सय ४२ रन बटुलेका थिए । जसमा ओमानविरुद्ध उनले अर्धशतकीय इनिङसमेत खेले । 

सुझावित समाचार