कीर्तिपुरको सानदार जित

मंगलबार, ३ फागुन, २०७८
डिजिटल संस्करण

कीर्तिपुर नगरपालिकाले लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार सानदार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले बिएमकेलाई ९५–६९ ले पराजित गर्यो । कीर्तिपुरले चारै क्वार्टरमा अग्रता लियो । कीर्तिपुरले २५–२१, २३–१८, २४–१६ र २३–१४ को अग्रता लिँदै बिएमकेलाई निराश पारेको हो । 

कीर्तिपुरको सहज जितमा सोमन महर्जनले २४ स्कोरको योगदान गरे । बिएमकेका मिलन मल्ल २९ स्कोर गरे पनि जितका लागि पुगेन । पुरुषमै सुजन महर्जनको ३१ स्कोरको सहयोगमा ड्रिम टिमले शंकर देव क्याम्पसलाई ८३–४८ ले हरायो । शंकरदेवका राजेश ठकुरीले १६ स्कोर गरेका थिए । 

पहिलो क्वार्टरमा १५–१४ को झिनो अग्रता लिएको ड्रिम टिमले अन्तिमसम्म अग्रतालाई जोगाइराख्यो । ड्रिम टिमले दोस्रो क्वार्टरमा २३–१३ र तेस्रो क्वार्टरमा ३२–१२ ले अग्रता लिएको थियो । खेलको अन्तिम क्वार्टरमा ड्रिम टिमले १३–९ स्कोरको प्रदर्शन गरेको थियो । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको महिलातर्फ रोयल बास्केटबल एकेडेमीले ललितपुर हाईमाथि ४८–३९ को जित दर्ता गर्यो ।

पहिलो क्वार्टरमा १४–१० को अग्रता बनाएको रोयल दोस्रोमा ९–९ को बराबरीमा रोकियो । तेस्रो क्वार्टरमा रोयल ८–१२ ले पछि परेपछि खेल ३१–३१ को बराबरीमा पुगेको थियो । चौथो तथा अन्तिम क्वार्टर रोयलले १७–८ ले आफ्नो पक्षमा पार्दै जित सुनिश्चित गर्यो ।आयोजक संघका अध्यक्ष स्व. लामा टेन्डी शेर्पाको स्मृतिमा आयोजित प्रतियोगिताको स्व. लामाका पिता लामा पासाङ शेर्पा र दाइ नवाङ निमा लामाले उद्घाटन गरे । फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताको पुरुषमा १३ र महिलामा ५ टिम सहभागी छन् ।

सुझावित समाचार