कुनै देशसँग गरेका सम्झौता वा परियोजनाको आधारमा गठबन्धन बनेको होइन : प्रचण्ड (भिडियोसहित)

आइतबार, १ फागुन, २०७८
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूले गठबन्धन सरकार गिराउने प्रयास गरिरहेको बताएका छन्। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित २७औँ जनयुद्ध दिवसको अवसरमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

उनले संविधान, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षामा एकमत भएर गठबन्धन बनेको बताउँदै कुनै एउटा खास परियोजना गर्ने वा नगर्ने भन्ने आधारमा गठबन्धन नबनेको स्पष्ट पारे। उनले कसैले एउटा परियोजनासँग सम्बन्धित गराएर गठबन्धनको भाग्य र भविष्यबारे सोच्छ भने त्यो ऐतिहासिक धरातल भत्काएसरह हुने टिप्पणी गरे।

‘संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षामा हामी एकमत भएर त्यसैलाई लिपिबद्ध गरेर त्यसैको आधारमा आन्दोलित हुँदै हाम्रो गठबन्धन बनेको हो। यो सरकार पनि गठन भएको हो। हामीले कुनै देशविशेषसँग गरेका सहमति, सम्झौता वा परियोजना वा आर्थिक सहयोगको लेनदेन र त्यसको आधारमा गठबन्धन बनाएको होइन। यो गठबन्धन सुदृढ हुँदै जाने वा कमजोर बन्ने भन्ने कुरा हामीले यो गठबन्धन निर्माण गर्दा जुन राजनीतिक र सैद्धान्तिक मान्यतामा खडा थियौँ, हामी त्यही मान्यतामा खडा भएर यो गठबन्धनलाई अघि बढाउनुपर्छ र नेपालको संविधान, नेपालको लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षा म सम्पूर्ण नेपाली जनसमुदाय दाजुभाइ तथा दिदिबहिनीहरूलाई विशेष रूपले अपिल गर्न चाहन्छु, हामी सबैले यो कुरालाई विचार गरौँ,’ प्रचण्डले भने।

सुझावित समाचार