जनयुद्धका सहिद परिवारलाई मधेस प्रदेशले तीन लाख दिने

बिहिबार, २७ माघ, २०७८
डिजिटल संस्करण

मधेस प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा माओवादी जनयुद्धका क्रममा सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई जनही तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको मधेसी सहिद प्रतिष्ठानले अगामी फागुन १ गते माओवादी जनयुद्धका क्रममा मधेस प्रदेशबाट सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई सो रकम प्रदान गर्न लागेको हो । 

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत शाहका अनुसार पहिलो चरणमा जनही एक लाख र दास्रो चणमा दुई लाख गरी जम्मा तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय प्रदेश सरकारले गरेको छ । त्यसका लागि मन्त्रालयले प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्र लेखी जनयुद्धका क्रममा सहिद भएका तथा ज्यान गुमाएकाहरूको यकिन तथ्यांक पठाउन पत्राचार गरेको मन्त्रालयका एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘अहिलेसम्म सबै जिल्लाबाट जनयुद्धका सहिद तथा ज्यान गुमाएकाहरूको तथ्यांक प्राप्त हुन सकेको छैन । तर, हाम्रो अनुमान मधेस प्रदेशबाट करिब ६ सयले जनयुद्धका क्रममा ज्यान गुमाएका छन् ।’

मधेस आन्दोलनका क्रममा सहिद भएका परिवारलाई मधेस प्रदेश सरकारले गत माघ ५ गते बलिदानी दिवसको अवसरमा तीन लाखको दरले सहयाेग रकम प्रदान गरेको थियो । जनयुद्ध दिवसको अवसरमा सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच सहिद परिवारलाई सहयोग गर्ने कार्यक्रम रहेको उनले बताए । 

सुझावित समाचार