इलामको विमानस्थलमा नेवानिको परीक्षण उडान

बिहिबार, २७ माघ, २०७८
डिजिटल संस्करण

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल वायुसेवा निगम (नेवानि)को ट्विनअटर विमानले सफल परीक्षण उडान गरेको छ । बुधबार बिहान ९:०५ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान सुकिलुम्बा विमानस्थलमा १०:०२ बजे सुरक्षित अवतरण गरेको थियो ।

नेवानिको परीक्षण उडानमा अपरेसन डाइरेक्टर, चालक दल, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक टोलीलगायतको सहभागिता थियो । परीक्षण उडानको प्रतिवेदन तयार भएपछि सुरक्षाका सम्पूर्ण सिफारिस अवलम्बन गरेर नेवानिले नियमित उडान सञ्चालन गर्न प्रक्रिया अगाडि बढाउने जनाएको छ । यसअघि निजी वायुसेवा कम्पनी तारा एयरले साताको एउटा उडान गर्ने घोषणा गरिसकेको छ । 

बन्द अवस्थामा रहेको सुकिलुम्बा विमानस्थल सञ्चालनमा पर्यटनमन्त्री प्रेमबहादुर आलेले विशेष सक्रियता देखाएका छन् । उनकै निर्देशनमा बुधबार नेवानिले परीक्षण उडान गरेको बताइएको छ ।

सुझावित समाचार