अधिवेशन उद्घाटन भएको एक महिनापछि नेकपा (एमाले) सिन्धुपाल्चोकले जिल्ला नेतृत्व टुंग्याएको छ । सर्वसम्मतबाट पूर्वजिल्ला सचिव कमल नेपाल अध्यक्षमा चयन भएका छन् । नेपाल लिसंखुपाखर गाउँपालिका अध्यक्षसमेत हुन् ।अध्यक्षका लागि उम्मेदवारी दिएका बालकृष्ण देउजा, होमनारायण श्रेष्ठ, डोल्मा तामाङ र केदार क्षेत्रीले दाबी छोडेकोले नेपाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
पार्टी स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नेतृत्वमा रहेको अध्यक्षमण्डलले उनलाई सर्वसम्मत अध्यक्ष घोषणा गरेको हो । नवनिर्वाचित अध्यक्ष नेपाल एमालेभित्र १० बुँदे पक्षधर हुन् । त्यसैगरी उपाध्यक्षमा रामचन्द्र बस्नेत, सचिव विष्णुमणि आचार्य र उपसचिवमा चिरण तामाङ चयन भएका छन् । बस्नेत र आचार्य ओली पक्षधर हुन् भने तामाङ पूर्वमाओवादी नेता रामबहादुर थापा पक्षधर हुन् ।