सेना दिवस तथा महाशिवरात्रिका अवसरमा आगामी फागुन १४ गते ‘प्रधानसेनपति खुला म्याराथन’ प्रतियोगिता हुने भएको छ। ‘मनोरञ्जनका लागि खेल : एकता, सामूहिक भावना र सामर्थ्य’ भन्ने नाराका साथ आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न म्याराथन विधा समावेश गरिएको छ।
नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ४२.१९५ किलाेमिटर पुरुष म्याराथन तथा २१ किलाेमिटर महिला–पुरुष हाफ म्याराथन गर्न लागिएको केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले जानकारी दिए।
सैनिक अधिकृत र सैनिक सहचारी महिला–पुरुषको सहभागितामा १० किलाेमिटर दौड तथा उपत्यकाभित्रका सहायकरथी र सोभन्दामाथिका रथीवृन्द, सैनिक श्रीमती संघका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किलाेमिटर वाकाथन पनि आयोजना हुने जानकारी दिइएको छ।
म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँ नगद प्रदान गरिने छ। हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार रुपैयाँ नगर पुरस्कार प्रदान गरिनेछ। म्याराथनमा प्रथम हुनेलाई सिसिक अटोमोबाइल प्रालिले यामाहा मोटरसाइक तथा काठमाडौं महानगरपालिकाले स्पोन्सरस्वरूप हाफ म्याराथनकी विजयी महिला धावकलाई स्कुटर प्रदान गर्नेछ।
म्याराथनमा द्वितीय हुने र हाफ म्याराथनमा प्रथम हुने पुरुष धावकलाई पुरस्कारस्वरूप पनि मोटरसाइकल उपलब्ध हुनेछ। ती सबै प्रतियोगितामा करिब एक हजार एक सय ५० धावकको सहभागिता हुने अपेक्षा गरिएको छ। रासस