गुल्मी दरबार गाउँपालिका– ३ राजाका २० वर्षीय आशिष सूर्यवंशी पाँच महिनाअघि भारत गएका थिए । तीन महिनादेखि उनीहैदराबादको एक होटेलमा काम गर्थे । यही माघ ९ गते काम गर्ने क्रममा अचानक ग्यास लिक भएर जल्दा उनी गम्भीर घाइते भए । आशिषका दुवै खुट्टा र हात जले । उनी अहिले हैदराबादको एक अस्पतालमा आर्थिक अभावको कारण छटपटाइरहेका छन् । जसले गर्दा उनको उपचारमा ढिलाइ भइरहेको छ ।
समयमै उपचार नभए हातखुट्टा गुम्ने जोखिम
परिवारको आर्थिक अवस्था राम्रो नभएकाले आमा सीता सूर्यवंशी गाउँ र भारतमा रहेका छिमेकीहरूसँग छोराको उपचार खर्चको जोहो गर्न हारगुहार गरिरहेकी छिन् । अस्पतालका चिकित्सकहरूले आशिषको समयमै उपचार नभए हातखुट्टा गुम्ने जोखिम रहेको बताएका छन् ।
परिवारमा कमाउने उनै मात्र हुन् । गाउँकी एकल आमासँग कुनै आर्थिक स्राेत छैन । आमाले मेलापात गरेर बिहान–बेलुकाको जोहो गरेकी छिन् । ‘कतै आर्थिक अभावको कारण छोरा गुम्ने स्थिति आउने हो कि’ भनेर मन पीडा र आँखाभरि आँसु बोकेर चन्दा संकलनमा लागेको आशिषकी आमाले गुनासो गरिन् ।
परिवारको गर्जो टार्न परदेश
आशिष सूर्यवंशी परिवारका जेठा छोरा हुन् । बुबा दिलबहादुर सूर्यवंशीको चार वर्ष पहिले मृत्यु भयो । एकल आमासँग आर्थिक बोझ र परिवारको व्यवस्थापन निकै चुनौती थियो । गाउँमा ऐचोपैँचो र अर्मपर्म गरेर सीताले घरपरिवार चलाउन मुस्किल परेपछि आशिष भारत पसेका थिए ।
पहिले उनका बाबुले पनि भारतमै काम गर्थे । गाउँ आएर पनि खासै आर्थिक उन्नति भएन । पछि हृदयघातको कारण आशिषका बाबुको पनि ज्यान गयो । परिवारको मूल खम्बा नै ढलेपछि आमा सीता र छोरा आशिषसँग परिवारको भारी थपियो । ‘छोरा निकै सज्जन छ । बाबुको मृत्युपछि आर्थिक अवस्था कमजाेर भएकाले घर सल्लाहमा नै ऊ भारत गएको हो,’ आमाले भनिन्, ‘निष्ठुरी दैवले गरिबलाई नै देख्ने रहेछ ।’
छोरालाई बचाइदिन आमाकाे आग्रह
आमा सीताले सक्दो आर्थिक सहयोग गरेर छोरालाई बचाइदिन सबैसामु आग्रह गरेकी छिन् । आफ्नो आर्थिक अवस्था कमजोर भएकाले ऋण दिनेहरू पनि नभएकाले चन्दा उठाउँदै गाउँ डुल्ने अवस्था आएको उनले गुनासो गरिन् ।
अहिलेसम्म छोराको उपचारमा ५० हजार भारतीय रकम खर्च भइसकेको उनले बताइन् । खोजखाज र सहयोग मागेर उक्त रकम जम्मा गरे पनि छाेराकाे उपचारका लागि अझै पैसाको अभाव भएको सीताको भनाइ छ । होटेल साहुले एक रुपैयाँ सहयोग नगरेकाले आफैँलाई झन् ठूलो आर्थिक समस्या परेको सीताले दुःखेसो गरिन् ।