देशभित्र कोभिड–१९ संक्रमणको ग्राफ उकालो लागिरहे पनि नयाँ उद्योगको दर्ता भने बढेको छ । कोभिड महामारीकै बीच चालू आर्थिक वर्षको पहिलो ६ महिनामा स्वदेशी तथा विदेशी लगानीका गरी एक सय ५४ उद्योग–परियोजना दर्ता भएका छन् । यी उद्योगहरूमा एक खर्ब ८६ अर्ब रुपैयाँ कुल लगानीको प्रस्ताव गरिएको छ ।
गत आर्थिक वर्षको यही अवधिमा ७२ अर्ब ६२ करोड रुपैयाँ लगानीका एक सय तीन उद्योग दर्ता भएका थिए । यस वर्ष संक्रमणकै बीचमा पनि स्वदेशी तथा विदेशी लगानीका उद्योगको दर्तामा उत्साह देखिएको उद्योग विभागले जनाएको छ । गत आवको ६ महिना (साउन–पुस)को तुलनामा यस वर्ष उद्योग दर्ता संख्या ५१ र लगानी एक खर्ब १४ अर्ब रुपैयाँले बढी हो । यस वर्ष ६ महिनामा दर्ता भएका उद्योगमध्ये ठूला उद्योग ४५, मझौला उद्योग ५७ र साना उद्योग ५२ वटा रहेको विभागले जनाएको छ ।
उद्योग विभागमा दर्ता भएका समग्र उद्योगहरूले १३ हजार सात सय ४८ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । गत वर्षको ६ महिनामा दर्ता भएका उद्योगहरूले ६ हजार दुई सय ८८ जनालाई रोजगारी दिने प्रतिबद्धता गरेका थिए ।
यो अवधिमा उद्योग विभागले विदेशी लगानीकर्ताका एक सय २९ परियोजनालाई लगानीको स्वीकृति दिएको छ । यी परियोजनामा कुल ३० अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानी गर्ने प्रस्ताव गरिएको छ । प्रस्तावित विदेशी लगानीका परियोजनामध्ये ठूला दुई, मझौला ३७ र साना ९० उद्योग–परियोजना रहेका छन् । गत वर्ष विदेशी लगानीका एक सय २३ परियोजनाले स्वीकृति पाएका थिए, जुन परियोजनामा २३ अर्ब ४७ करोड रुपैयाँ विदेशी लगानीको प्रस्ताव गरिएको थियो । यस वर्ष स्वीकृति पाएका विदेशी परियोजनाले आठ हजार एक सय ४६ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् ।
नयाँ लगानीका उद्योग दर्ता बढे पनि प्याटेन्ट दर्ता भने हुन सकेन । ६ महिनाको अवधिमा प्याटेन्ट दर्ता संख्या शून्य रहेको छ । यस्तै, उद्योग विभागमा १३ वटा डिजाइन र एक हजार ६ सय ८० ट्रेडमार्क दर्ता भएका छन् । यस्तै, ३७ परियोजनाले प्रारम्भिक वातावरणीय परीक्षण गरेको विभागले जनाएको छ । यस अवधिमा ट्रेडमार्कसम्बन्धी ३१ मुद्दामा कारबाही र ३९ उद्योगलाई ‘सर्टिफिकेट अफ ओरिजिन’ जारी गरेको उद्योग विभागले जनाएको छ ।
अहिलेसम्म साढे आठ हजार उद्योग दर्ता
उद्योग विभागमा सुरुदेखि पुस मसान्तसम्म कुल आठ हजार ६ सय आठ उद्योग दर्ता भएका छन्, जसमा २४ खर्ब ७० अर्ब रुपैयाँ कुल लगानी प्रस्ताव गरिएको छ । यी उद्योगले कुल ६ लाख ४२ हजार पाँच सय ४३ जनालाई रोजगारी दिने प्रस्ताव गरेको विभागले जनाएको छ । यस्तै, अहिलेसम्म उद्योग विभागमा ७९ प्याटेन्ट दर्ता हुँदा दुई सय ६८ डिजाइन, ५४ हजार सात सय ३२ ट्रेडमार्क दर्ता भएको बताइएको छ ।