निफको पाँचौँ संस्करण चैतमा

मंगलबार, ११ माघ, २०७८
डिजिटल संस्करण

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बर्सेनि आयोजना गर्दै आइरहेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौँ संस्करण चैतमा हुने भएको छ। चैत १० गतेदेखि १४ गतेसम्म महोत्सव काठमाडौंमा हुने आयोजक संस्थाका अध्यक्ष केपी पाठकले बताए। 

महोत्सवमा सहभागिताका लागि ५५ देशबाट चार सयभन्दा बढी चलचित्र प्राप्त भएको उनले बताए। प्राप्त भएका चलचित्रबाट निफ चलचित्र छनाेट समितिले सिफारिस गरेको आधारमा आवेदन प्राप्त चलचित्रहरूमध्येबाट ३८ देशका ८९ वटा चलचित्र छनाेट गरिएको उनले जनकारी दिए। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र फिल्म, सर्ट फिल्म र राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत  फिचर फिल्म, वृत्तचित्र र  सर्ट फिल्ममा चलचित्रहरूको आवेदन परेको थियो। 

‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नारा दिएर भइरहेको महोत्सवमा यो वर्ष नेपाली प्रतिस्पर्धामा पचास हजार  नगद पुरस्कारसहितको ‘बेस्ट डकुमेन्ट्री अवार्ड’ पनि थप गरिएको छ। यस अतिरिक्त नियमित रूपमा प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ। यसैगरी, सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई पाँच सय डलरको मञ्जुश्रीअवार्ड, सर्वोत्कृष्ट लघुचलचित्रलाई पाँच सय डलर राशिको बागमती अवार्ड प्रदान गरिनेछ। त्यसैगरी नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु. १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्मलाई नगद रु. ५० हजार नगद र ट्रफी, उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी तथा सर्ट फिल्ममध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ। 

सुझावित समाचार