यो वर्ष आर्थिक वृद्धि ३ दशमलव नौ प्रतिशत, आगामी वर्ष ४ दशमलव सात प्रतिशत

बिहिबार, २९ पुष, २०७८
डिजिटल संस्करण

चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३ दशमलव नौ प्रतिशत मात्रै हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । मंगलबार सार्वजनिक ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स २०२२ ले सरकारले लिएको लक्ष्यको तुलनामा कमजोर आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको हो । प्रतिवेदनले आगामी आर्थिक वर्ष ०२२/२३ (०७९/८०) मा पनि सामान्यस्तरको ४ दशमलव ७ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । 

चालू आवमा सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य सरकारले राखेको छ । तर, केन्द्रीय तथ्यांक विभागले यसअघि नै ५ दशमलव ११ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ । कात्तिक मसान्तसम्मको गतिविधि तथा आगामी दिनमा हुने आर्थिक क्रियाकलापका आधारमा विभागले यस्तो आकलन गरेको थियो । ‘बेमौसमी बाढीले मुलुकको धान उत्पादनमा क्षति पु¥याएको छ । यद्यपि, कोभिड–१९ का कारण प्रभावित आर्थिक क्रियाकलापहरू करिब शतप्रतिशत पुरानै लयमा फर्केका कारण आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा माथि हुने आकलन गरिएको छ,’ अर्थ मन्त्रालय स्रोतको भनाइ छ । यद्यपि, अर्थमन्त्री जनार्दन शर्मा र सचिव मधुकुमार मरासिनी भने सार्वजनिक रूपमा लक्ष्यअनुरूप सात प्रतिशत नै आर्थिक वृद्धि हुने बताइरहेका छन् । 

प्रतिवेदनले गत आर्थिक वर्ष ०७७/७८ मा मुलुकको आर्थिक वृद्धि १ दशमलव आठ प्रतिशत मात्रै भएको जनाएको छ । केन्द्रीय तथ्यांक विभागले भने गत वैशाखमा गत आवमा चार प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । तर, हालसम्म पनि अघिल्लो आर्थिक वर्षको आर्थिक वृद्धिको अन्तिम तथ्यांक विभागले सार्वजनिक गरिसकेको छैन । 

अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा आर्थिक वृद्धिदर माइनस २ दशमलव एक प्रतिशतले खुम्चिएको थियो । कोभिड–१९ का कारण इतिहासमै सबैभन्दा कमजोर आर्थिक वृद्धि भएपछिको अर्को वर्ष ०७७/७८ मा पनि अर्थतन्त्र पुनरुत्थान हुन सकेन । 

गत वैशाखबाट पुनः लकडाउन भएपछि आर्थिक पुनरुत्थानको गति पुनः रोकिएको थियो । तर, असारपछि लकडाउन खुला हुँदै गएको र यस वर्ष आर्थिक गतिविधि पनि वृद्धि भएका कारण चालू आर्थिक वर्षमा भने ३ दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण विश्वबैंकले गरेको हो । 

यो वर्ष सबैभन्दा उच्च आर्थिक वृद्धि माल्दिभ्सको, दोस्रोमा भारत
यो वर्ष अर्थात् सन् २०२२ मा दक्षिण एसियाली क्षेत्रमा माल्दिभ्सले सबैभन्दा उच्च ११ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण विश्व बैंकको छ । गएको वर्ष २०२१ मा माल्दिभ्सले २२ दशमलव तीन प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो । 

त्यस्तै, भारतले उसको चालू आर्थिक वर्षमा ८ दशमलव तीन प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण विश्व बैंकको छ । त्यस्तै, बंगलादेशले ६ दशमलव ४, भुटानले ५ दशमलव १, पाकिस्तानले ३ दशमलव ४, श्रीलंकाले २ दशमलव एक प्रतिशत वृद्धिदर हासिल गर्ने अनुमान विश्व बैंकको छ ।

सुझावित समाचार