बतास र दाहाललाई कारबाही गर्न अख्तियार र प्रहरीलाई पर्यटन मन्त्रालयको पत्राचार

बिहिबार, २९ पुष, २०७८
डिजिटल संस्करण

मुलुकी अपराधसंहिताअनुसार कारबाही गर्न सिफारिस, दोषी प्रमाणित भए तीन वर्ष कैद

पर्यटन मन्त्रालयले नारायणहिटी दरबारभित्र सेटिङ गरेर क्याफे सञ्चालनको अनुमति लिने बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अवैध संरचना निर्माणमा सहयोगी बनेका संग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि अनुसन्धान गरेर कारबाही गर्न अख्तियार र नेपाल प्रहरीलाई पत्रचार गरेको छ । 

मन्त्रालयले दुवै निकायलाई बुधबार पठाएको पत्रमा उनीहरूमाथि मुलुकी अपराधसंहिता, २०७४ को दफा १४७ अनुसार कारबाहीका गर्न आग्रह गरिएको छ । यो संहितामा राष्ट्रिय तथा सार्वजनिक सम्पदा क्षेत्रमा स्वीकृति नलिई भोगचलन गर्न नपाइने व्यवस्था गरिएको छ । उक्त कसुर प्रमाणित भएमा दाहाल र बतासलाई तीन वर्षसम्म कैद सजाय हुनेछ । 

पर्यटन मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेका अनुसार कार्यकारी निर्देशक दाहालले राजीनामा दिइसकेकाले उनीमाथि थप अनुसन्धान र कारबाहीको माग गरिएको छ । उनी दोषी ठहरिए भ्रष्टाचार मुद्दामा कारबाही हुनुपर्ने व्यहोरा पत्रमा लेखिएको छ । त्यस्तै, बतास समूहले तोकिएभन्दा बढी क्षेत्र ओगटेर मिलेमतोमा सम्पदा क्षेत्रमा संरचना निर्माण गरेकाले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाही गर्न प्रहरीलाई पत्र पठाइएको छ । 

‘नारायणहिटी दरबार संग्रहालय परिसरमा क्यान्टिन र क्याफ्टेरिया सञ्चालनसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदनसहित उहाँहरू (बतास र दाहाल)लाई कारबाहीका लागि अख्तियार र प्रहरी प्रधान कार्यालयलाई पत्र काटिएको हो,’ प्रवक्ता पाण्डेले भने । उनका अनुसार पत्रमा निवर्तमान कार्यकारी निर्देशक दाहालले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न नसकेको र कुशलतापूर्वक जिम्मेवारी निर्वाह नगरेको उल्लेख गरिएको छ । 

मन्त्रालयले क्यान्टिन भाडामा लगाउने सम्बन्धमा २२ पुसमा गठन गरेको छानबिन समितिले सोमबार पर्यटनमन्त्री प्रेम आलेलाई प्रतिवेदन बुझाएको थियो । समितिले दोषी देखाएपछि कार्यकारी निर्देशक दाहालले मंगलबार राजीनामा दिएका थिए । संग्रहालय क्षेत्रको जग्गा भाडामा दिने प्रकरणमा दाहालको संलग्नता देखिएको भन्दै मन्त्रालयले अख्तियार र प्रहरीलाई कारबाही अघि बढाउन भन्दै पत्र काटेको हो ।

सेटिङ नगरेको बतासको दाबी 

बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयभित्र क्याफ्टेरिया सञ्चालनका लागि भएको ठेक्का सम्झौतामा मिलेमतो नभएको दाबी गरेको छ । अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले बुधबार विज्ञप्ति जारी गर्दै आफूले कुनै प्रभाव वा दबाब सिर्जना गरेर ठेक्का नपाएको स्पष्टीकरण दिएका छन् । नारायणहिटीदेखि पशुपतिको धर्मशाला, पोखराको रामघाटदेखि तनहुँको मानहुँकोट र पाटन दरबारसम्म उठेका प्रश्नबारे बतास अर्गनाइजेसनले सातवटा बुँदामा स्पष्टीकरण दिएको छ । 

नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन र सञ्चालन विकास समितिले आह्वान गरेको टेन्डर प्रक्रियामा सहभागी भएर नियमसंगत छनोट भएको बतासको दाबी छ । बिपिएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालिले १७ पुस ०७७ मा मासिक दुई लाख २१ हजार ६ सय १८ रुपैयाँ भाडा तिर्ने गरी ठेक्का लिएको थियो । तर, विनास्वीकृति १४ रोपनी क्षेत्रफलमा अवैध संरचना निर्माण गरेको थियो ।  

बतासले पशुपति धर्मशाला भाडामा लगाउन पशुपति क्षेत्र विकास कोषले २९ चैत ०७५ मा आह्वान गरेको बोलपत्रमा रीतपूर्वक आवेदन दिएर ठेक्का पाएको जिकिर गरेको छ । त्यस्तै, पाटन दरबार क्षेत्रमा केही कवल कोठाहरू पनि कानुनअनुसार नै लिएको दाबी गरेको छ ।
 

See More On

सुझावित समाचार