सरकारले दैनिक पाँच लाख नागरिकलाई खोप लगाउने घोषणा गरेको थियो । तर, सरकारले लिएको लक्ष्यअनुसार खोप अभियान अघि बढ्न सकेको छैन । हरेक दिन खोप लगाउनेको संख्या दुई लाखको हाराहारीमा मात्र देखिएको छ । सोमबार पनि दुई लाख १० हजार पाँच सय ९४ जनाले खोप लगाएका छन् ।
पर्याप्त सिरिन्ज नहुँदा दैनिक पाँच लाखलाई खोप लगाउने अभियान कार्यान्वयनमा नआएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् । कोभिड महामारीको समयमा तीन तहका सरकारबीच समन्वय हुन नसक्दा खोप अभियान बरालिएको उनीहरूको भनाइ छ । सरकारले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिँदै आएको छ । तर, संघीय सरकारको निर्णयअनुसार सबैले खोप सहज रूपमा पाएका छैनन् । कतिपय खोपकेन्द्रले नेपालमा उपलब्ध भएका खोप आवश्यकताअनुसार दिएका छन् भने कतिपय केन्द्रले आफूलाई सहज हुने खोप मात्रै चलाएका छन् । यसले गर्दा एक मात्रा र दुई मात्रा खोप लगाउन जानेहरू समस्यामा परेको गुनासा आएका छन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी संघीयता कार्यान्वयनपछि स्वास्थ्यमा समन्वयको पाटो बरालिएको बताउँछन् । ‘कतिपय क्षेत्रमा धेरै राम्रो काम पनि भएका छन्,’ उनले भने, ‘तर कतिपय स्वास्थ्य क्षेत्रले बाटो बिराएको जस्तो भएको छ । यो हाम्रा लागि निकै ठूलो चुनौती हो ।’
देशभर सात सय ५३ पालिकाले के गरिरहेका छन् भनेर स्वास्थ्य मन्त्रालयलाई समेत जानकारी हुँदैन । ‘स्वास्थ्य मन्त्रालय तीन तहमा विभाजित छ । स्थानीय तहमा २५ हजार स्वास्थ्यकर्मी छन् । करिब ६ हजारको संख्यामा प्रदेश र २५ सयको हाराहारीमा संघमा छन् । संघमा भएका कर्मचारी र प्रदेशमा भएका कर्मचारीबीचको समन्वयमै सबैभन्दा ठूलो चुनौती छ,’ अधिकारीले भने, ‘कोरोना रोकथाम स्वास्थ्य मन्त्रालयको काँधमा भएकाले अरू निकायसँगको समन्वय त झनै ग्याप छ । समयअनुसार व्यवस्थापन गर्ने काम हामीले गर्दै आएका छौँ । हामीले मागेजति खोप स्थानीय तहमा पठाएका छौँ, तर नलगाएर समय सकिन लागेपछि फिर्ता भएका पनि छन् ।’
सिरिन्ज अभावले रोकिएको फाइजर खोप अभियान मंगलबारदेखि सुरु हँुदै छ । अन्य खोपका लागि आवश्यक पर्ने सिरिन्ज पनि कम मात्रै मौज्दात छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार हाल देशभर ३० लाख २४ हजार आठ सय सिरिन्ज बाँकी छ । दैनिक रूपमा दुई लाखले खोप लगाइरहेका छन् । यही संख्यामा खोप लगाए १५ दिनभन्दा बढीलाई सिरिन्ज पुग्ने देखिँदैन । फाइजरका लागि आएको छुट्टै ६ लाख सिरिन्जबाट मंगलबारदेखि खोप लगाइने भएको छ ।
व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनीका अनुसार हाल भएको सिरिन्जले १० देखि १५ दिनलाई पुग्छ । तर, सरकारको लक्ष्यअनुसार दैनिक पाँच लाखले लगाएको अवस्थामा भने एक साताभन्दा बढी खोप अभियान चल्न सक्दैन । मरासिनीका अनुसार कोभ्याक्समार्फत २० जनवरीमा १२ लाख ९६ हजार खोप आउँदै छ । सरकारले दुई करोड खोप खरिद गर्न लागेको छ, त्यसमध्ये ५० लाखको टेन्डर भइसकेको छ । जुन १५ दिनभित्र आउने अनुमान गरिएको छ । चीनले २० लाख डोज खोप दिने प्रतिबद्धता जनाएको छ, तर कहिले दिने भन्ने टुंगो लागेको छैन ।