बालबालिकालाई लगाउन ल्याएको १५ सय डोज खोप फिर्ता

मंगलबार, २७ पुष, २०७८
डिजिटल संस्करण

रसुवामा बालबालिकालाई लगाउन ल्याइएको कोरोनाविरुद्धको करिब १५ सय डोज मोडर्ना खोप फिर्ता पठाइएको छ । जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई दिन लागिएको खोपमध्ये १४ सय ९० डोज खोप स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखामा फिर्ता पठाइएको हो । 

गत ११ देखि १८ पुससम्म जिल्लाको पाँचवटै गाउँपालिकाको ४३ वटा माध्यमिक तहका १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि खोप अभियान सञ्चालन गरिएको थियो । तर, तोकिएको लक्ष्यअनुसार प्राप्त तथ्यांकका बालबालिकाले खोप लगाउन नआउँदा खोप फिर्ता गर्नुपरेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले जानकारी दिए । ‘११ देखि १३ पुससम्म खोप अभियान थियो, हामीले पाँच दिन थप गरेर १८ गतेसम्म खोप अभियान सञ्चालन गर्यौँ, विवरणअनुसार पाँचवटै गाउँपालिकाका सबै बालबालिका खोप लगाउन आएनन्,’ उनले भने ।

गत बुधबार बाँकी रहेका सबै खोप स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखामा फिर्ता पठाइएको उनले बताए । ‘मोडर्ना खोप एक महिनासम्ममा लगाइसक्नुपर्ने हुन्छ, ४८ सय डोज खोप ल्याएका थियौँ, लक्ष्यअनुसारका विद्यार्थी नआएपछि १४ सय ९० डोज फिर्ता गर्यौँ । एक भाइल खोप ११ जनासम्मलाई लगाउन सकिन्छ,’ चालिसेले भने, ‘१८ वर्षमाथिका नागरिकलाई लक्ष्यअनुसारको खोप लगाइयो, तर १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लक्ष्यअनुसार लगाउन सकिएन ।’

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार