एकीकरण अभियन्ताको उपेक्षा

सोमबार, २६ पुष, २०७८
डिजिटल संस्करण

पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसको सूचीबाट हटाउनु उनको अवमूल्यन गर्नु हो


पृथ्वीनारायण शाहको पनि बहुपहिचान छ । विभिन्न राज्य–रजौटा, भुरे–टाकुरे, स–साना आकारमा छरिएर रहेका हिमाली राज्यलाई एकीकरणको सूत्रमा बाँधी एउटा बलियो हिमाली राष्ट्र खडा गर्ने अभियन्ताका रूपमा उनको पहिचान कायम छ । मूलतः देशको सिमाना व्यापक र सुदृढ बनाउने चाहना राख्ने चिन्तकका रूपमा उनको अर्को पहिचान पनि पाइन्छ । कतिपयले उनलाई राजाका रूपमा हेर्ने गरेका छन् । तर, उनको क्रियाकलाप अध्ययन गर्दा नेपाल राष्ट्रनिर्माता, राष्ट्राध्यक्ष, राष्ट्रप्रेमीको पहिचानसमेत देखिन्छ । विगतमा उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसमा रूपमा राज्यले मनाउने गरेको थियो । पृथ्वीनारायण शाह नेपालका राष्ट्रनिर्माता, युगपुरुष, राष्ट्रभक्त र सर्वोपरि रूपमा आधुनिक नेपालका निर्माता हुन् । आफ्नो सारा जीवन राष्ट्र निर्माणका निम्ति लगाउने एक ठूला साधक हुन् । एकीकरणका दौरान विविध संघर्ष र पराजयको सामना गर्नुपरे पनि क्रमशः एक–एक खुड्किला पार गर्दै जानु उनको अदम्य साहस र तीव्र देशभक्तिको परिचायक हो । यस्ता राष्ट्रप्रेमी युगपुरुषको चर्चा गर्दा हाम्रा सामु सर्वप्रथम राष्ट्रनिर्माता पृथ्वीनारायणको विराट् व्यक्तित्व प्रकट हुन्छ ।

पृथ्वीनारायण शाहले टुक्राटुक्रामा विभाजित राज्यहरूलाई एक सूत्रमा आबद्ध गरी नयाँ नेपालको जग बसालेका मात्र होइनन्, तत्कालीन नेपालको सामाजिक, राजनीतिक, आर्थिक आदि विभिन्न तहको राम्रो अध्ययन, मनन, विश्लेषण गरी त्यसका आधारमा निचोड निकालेर विभिन्न नीति निर्धारण गरेका थिए । नेपाल र सम्पूर्ण नेपालीको अस्तित्व जोगाउन विभाजित नेपाललाई एक सबल र अखण्ड राष्ट्रका रूपमा खडा गराउने महान् कार्य पृथ्वीनारायण शाहबाटै भएकोमा इतिहास साक्षी छ । यसर्थ, नेपाल राष्ट्रको स्वतन्त्रता अक्षुण्ण राख्ने पृथ्वीनारायण शाहकै एकीकरणका कारण ब्रिटिस भारतको चंगुलबाट बच्न सहज भयो । विशाल भारत र अरू वरपरका कतिपय देशलाई आफ्नो अधीनमा पार्न सक्ने अत्यन्त शक्तिशाली ब्रिटिस साम्राज्यवादसँग एउटा सानो देश भएर पनि नेपालले सामना गर्न सक्नु अवश्यै पनि राम्रो संकेत हो । यसरी देशभक्ति, वीरता र स्वाभिमानले ओतप्रोत भएका पृथ्वीनारायणले नेपालको अस्तित्व जोगाउन चाहिने नेतृत्व मात्र प्रदान गरेनन्, स्वयं निरन्तर राष्ट्रको विस्तार र विकासमा समेत क्रियाशील रहे । जबकि, एसियाको यस भूभागमा तमाम देश, राज्य र रजौटा एकपछि अर्को विदेशी सत्तासामु नतमस्तक भई आत्मसमर्पण गर्न बाध्य भइराखेका थिए ।

नेपालको इतिहासमा पृथ्वीनारायणको गरिमा विशिष्ट र अतुलनीय रहिआएको छ । राष्ट्रनिर्माता पृथ्वीनायण शाहको अथक प्रयास र पराक्रमबाट वर्तमान नेपालको एकीकरण भयो र हामी नेपाली कहलाउन पायौँ । नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी भएका कारण यहाँ जाति, धर्म र सम्प्रदायबीच कहिले पनि झैझगडा र मनोमालिन्य भएको देखिन्न । नेपालको ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने यहाँ लिच्छविकालीन राजा अंशुबर्माको शासनलाई नेपालको स्वर्णयुग मानिन्थ्यो । यस युगमा सुनका सिक्कासमेत चलाइन्थ्यो । यही सत्यतालाई अन्य राजाहरूले अँगाल्दै आउँदा बीचमा केही समय बाइसी चौबिसी राजा रजौटाले मुलुको स्वतन्त्र अस्तित्वलाई खलबल्याउने प्रयत्न गरे पनि त्यस्तो प्रयास निष्फल हुन गयो ।

पृथ्वीनारायण शाहले टुक्रिन लागेका भूभागलाई एक सूत्रमा बाँध्ने अभिलाषाले बाइसी चौबिसी राज्यको उन्मूलन गरेर काठमाडौँ, ललितपुर, भक्तपुर र अधिराज्यभरका सम्पूर्ण राज्यलाई एउटै राष्ट्रिय झन्डामुनि एउटै राजाको नेतृत्वमा ल्याउने अभियान सुरु गरे । जसलाई उनका उत्तराधिकारीले पूर्णता दिए । पृथ्वीनारायण शाहको सम्पूर्ण जीवन युद्धमै बिते पनि उनले शासन सुधार्ने र जनतालाई सुख–सुविधा दिने कार्यमा प्रशस्त ध्यान दिएका छन् । उनले जातीय तथा वर्गीय भेदभाव नराखी सबै जनताको सहयोगमा विशाल मुलुक स्थापित गरे । उनी परराष्ट्र मामिलामा अत्यन्त सचेत र दूरदर्शी थिए । आज नेपालले अपनाइरहेको असंलग्न परराष्ट्र नीतिका आरम्भकर्ता उनै हुन् भन्दा फरक पर्दैन ।

पृथ्वीनारायण शाहको तुलना उनका उत्तराधिकारी र अन्य राजासँग गर्न मिल्दैन । पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसको सूचीबाट हटाउनु उनको अवमूल्यन गर्नु हो । इतिहास शासकको चाहनाअनुसार लेखिन्छ भन्ने वक्रोक्ति पृथ्वीनारायण शाहका हकमा पूरै चरितार्थ भएको छ । यसैले उनको योगदानको उपेक्षा गर्ने सरकारको पहिलेको गलत निर्णय सच्याउने समय आएको छ । वर्तमान नेपालको भौगोलिक एकीकरण अभियानको नेतृत्व गर्ने पृथ्वीनारायण शाहको सम्मान गर्न उनको जन्मजयन्तीलाई सरकारले राष्ट्रिय पर्व घोषित गरोस् । यसले राष्ट्रिय अखण्डताको पक्ष र विखण्डनविरुद्ध सन्देश दिनेछ ।

सुझावित समाचार