नारायणहिटीभित्र रेस्टुरेन्ट चलाउन दिने निर्णय रोकेकोमा प्रधानमन्त्रीले दिए पर्यटनमन्त्री आलेलाई बधाई

बिहिबार, २२ पुष, २०७८
डिजिटल संस्करण

नारायणहिटी दरबार परिसरमा रेस्टुरेन्ट चलाउने निर्णय रोक्नुभयो, राम्रो गर्नुभयो भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले धन्यवाद भन्नुभएको छ : प्रेम आले, पर्यटनमन्त्री

नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालन गर्न दिने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटनमन्त्री प्रेम आलेको प्रशंसा गरेका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले ‘राम्रो निर्णय गरेको’ भन्दै आलेलाई धन्यवाद दिएका हुन् । 

अघिल्लो केपी ओली नेतृत्वको सरकारले संग्रहालयभित्र बतास अर्गनाइजेसनको बिपिएस लिजिङ एन्ड अर्गनाइजेसनलाई रेस्टुरेन्ट चलाउन दिने निर्णय गरेको थियो । ऐतिहासिक दरबार संग्रहालयलाई व्यापारमा लगाउन लागिएको भन्दै विरोध भएपछि सोमबार पर्यटनमन्त्री आलेले त्यससम्बन्धी निर्णय कार्यान्वयन रोक्न निर्देशन दिएका थिए । ‘नारायणहिटी दरबार परिसरमा रेस्टुरेन्ट चलाउने निर्णय रोक्नुभयो, राम्रो गर्नुभयो भनेर प्रधानमन्त्रीले धन्यवाद भन्नुभएको छ,’ पर्यटनमन्त्री आलेले भने । यसअघि पनि विभिन्न लोकप्रिय निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकमै पर्यटनमन्त्री आलेको प्रशंसा गरे ।

अघिल्लो सरकारले नारायणहिटीभित्र क्याफ्टेरिया चलाउन दिने प्रक्रिया सेटिङका आधारमा गरेको पर्यटन मन्त्रालय स्रोत बताउँछ । बतास अर्गनाइजेसनअन्तर्गतका बिपिएस लिजिङ तथा म्यानेजमेन्ट प्रालि, होटेल आनन्द प्रालि र बतास एसोसिएट्स मात्र प्राविधिक रूपमा टेन्डरमा योग्य हुने गरी टेन्डरसम्बन्धी कागजपत्र बनाइएको थियो । तीन कम्पनीमध्ये धेरै भाडा कबोल गर्ने बिपिएसले गत वर्ष पुसमा ठेक्का पाएको थियो । 

भारतले बनाइदिएको पशुपतिको धर्मशाला पनि होटेल चलाउन बतासलाई लिजमा दिइएको थियो 

व्यापारिक घराना बतास अर्गनाइजेसनले पहुँचका आधारमा विभिन्न सरकारी सम्पत्ति लिजमा लिएर व्यापार गर्दै आएको छ । पिंगलास्थानमा भारतीय सरकारको सहयोगमा निर्माण भएको धर्मशालालाई समेत लिजमा लिएर यो  समूहले होटेल चलाउँदै आएको छ । 

यो भवनमा अन्य कर्पाेरेट कार्यालयसमेत राखिएको छ । जसकारण उद्देश्यअनुसार धर्मशाला प्रयोग हुन सकेको छैन । धर्मशाला बतास कम्पनीलाई दिने निर्णय पनि ओली सरकारले नै गरेको थियो । सो भवन र त्यहाँ रहेकोे खाली जग्गा १५ वर्षका लागि पशुपति विकास कोषले आनन्द होटेल प्रालिलाई लिजमा दिएको हो । 

कोषको सम्पत्ति त्यसरी लिजमा दिने कानुनी प्रावधान नै नहुँदा पनि राजनीतिक दबाब र सेटिङका आधारमा सो समूहलाई दिइएको थियो । भारतीय सरकारले करिब ३४ करोड रुपैयाँ लगानीमा सो धर्मशाला बनाएको थियो । जुन हाल होटेल र कर्पाेरेट कार्यालय बन्न पुगेको छ । त्यस्तै, पाटन संग्रहालय विकास समितिका सटर पनि बतासले सस्तो दररेटमा भाडामा लिएर तेस्रो पक्षलाई महँगोमा भाडामा लगाउँदै आएको छ । बतासको बिपिएस लिजिङ एन्ड अर्गनाइजेसनले नै सो लिजको ठेक्का पाएको थियो । ०७३ देखि १५ वर्षका लागि उसले भवनका विभिन्न कोठालाई लिजमा लिएको थियो ।

सुझावित समाचार