एमालेका आठ सिटमा सत्तागठबन्धनको भागबन्डा

सातै प्रदेशमा आज उम्मेदवारी दर्ता

मंगलबार, २० पुष, २०७८
डिजिटल संस्करण

राष्ट्रिय सभाका १९ सिटका लागि सत्तारुढ पाँच दल तालमेलसहित चुनावी मैदानमा उत्रिँदा प्रतिपक्षी एमालेलाई आफ्ना सिट सुरक्षित गर्न कठिन

निर्वाचन कार्यतालिका

  • १–१० पुस : राजनीतिक दल दर्ता
  • १७ पुस : मतदाता नामावली प्रकाशन
  • १९ पुस : अन्तिम नामावली प्रकाशन
  • २० पुस : मनोनयन दर्ता
  • २१ पुस : उम्मेदवारको विरोधमा उजुरी
  • २२–२३ पुस : उजुरीमाथि छानबिन
  • २४ पुस : उम्मेदवारको नाम फिर्ता 
  • २५ पुस : अन्तिम नामावली र चुनाव चिह्न प्रदान

आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनको मंगलबार उम्मेदवारी दर्ता हुँदै छ ।  

सत्तागठबन्धनमा रहेका दलहरूले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने सिटमा भागबन्डा गरेका छन् । यसले एमालेलाई आफ्ना सिट सुरक्षित गर्न कठिन बनाइदिएको छ । सत्तागठबन्धनमा रहेका दलहरूले यसअघि नै राष्ट्रिय सभा चुनावमा तालमेल गर्ने सहमति गरेका थिए ।

राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबाट बिदा हुँदै छन् । जसमा एमालेका आठ, माओवादी र एकीकृत समाजवादीका चार–चार, कांग्रेसका तीन र मनोनीत एक सांसद छन् । २० जनामध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १९ जनाका लागि निर्वाचन हुनेछ । मनोनीततर्फ एकजनामा कसलाई पठाउने भन्ने टुंगिएको छैन ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको संयोजनमा सोमबार बसेको गठबन्धनको बैठकले रिक्त १९ सिटमध्ये जुन पार्टीबाट सदस्य पद रिक्त भएको त्यो सिटमा सोही पार्टीलाई उम्मेदवारी दिने सहमति गरेको छ । एमालेसँग भएका आठ सिटमा भने कांग्रेसलाई तीन, जनता समाजवादी पार्टी नेपाललाई दुई तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई एक–एक सिट बाँडेर उम्मेदवारी दिने सहमति भएको छ ।

गठबन्धनको सहमतिअनुसार प्रदेश १ का तीन सिटमध्ये महिलातर्फ एकीकृत समाजवादी, अन्यमा कांग्रेस र अल्पसंख्यकमा जसपाले उम्मेदवारी दिनेछन् । प्रदेश २ का दुई सिटमध्ये महिलातर्फ माओवादी र अन्यमा जसपा, बागमतीका दुई सिटमध्ये अन्यमा कांग्रेस र महिलातर्फ एकीकृत समाजवादी, गण्डकीका तीन सिटमध्ये महिलामा कांग्रेस, अन्य र दलित क्लष्टरमा माओवादीले उम्मेदवारी दिने भएका छन् । त्यस्तै, लुम्बिनीका तीन सिटमध्ये पुरुष खुलामा कांग्रेस, महिलामा समाजवादी र दलितमा जनमोर्चा, कर्णालीका तीन सिटमध्ये महिलामा कांग्रेस, अपांगमा माओवादी र खुलामा एकीकृत समाजवादी तथा सुदूरपश्चिमका तीन सिटमध्ये खुलामा कांग्रेस, दलितमा माओवादी र महिलामा एकीकृत समाजवादीले उम्मेदवारी दिने सहमति भएको छ । 

‘गठवन्धनमा रहेका जुन–जुन दलको खाली भएको छ, त्यो खाली भएको सिटमा उसकै अधिकार रहेको छ । बाँकीमा बाँडफाँड गरिएको छ । जस्तो, कांग्रेसको तीनवटा मात्रै खाली थियो, अब ६ वटा भएको छ । माओवादीको चारवटा सिट खाली भएको थियो, अब पाँचवटा भएको छ,’ गठवन्धनको बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारसँग भने, ‘एकीकृत समाजवादीको चारवटा खाली थियो, अब पाँचवटा भएको छ । जसपाको खाली थिएन, दुई सिट भएको छ । जनमोर्चाको खाली थिएन, एक सिट भएको छ । यो गठबन्धनमा सबैको सहभागिता रहोस् भन्ने उद्देश्यसहित हामीले सकेसम्म विवेकपूर्ण र तर्कसंगत ढंगले विभाजन गरेका छौँ ।’ 

मंगलबार उम्मेदवारी दर्ता गर्न प्रायः सबै दलहरूले सोमबार उम्मेदवारको टुंगो लगाइसकेका छन् । एमालेको सचिवालय बैठकले प्रदेश १ मा खुलातर्फ झापाका देवराज घिमिरे र सुमित्रा भण्डारीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, अल्पसंख्यकमा सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा उम्मेदवार बनेका छन् ।

घिमिरेसँग गठबन्धनको तर्फबाट कांग्रेसका गोपालकुमार बस्नेत तथा एकीकृत समाजवादीकी जयन्ती राईले प्रतिस्पर्धा गर्नेछन् । अल्पसंख्यकमा एमालेका शेर्पा र गठबन्धनले तय गर्ने उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । यो सिट जसपाको भागमा परेको छ । 

त्यस्तै, प्रदेश २ मा गठबन्धनको तर्फबाट महिलातर्फ माओवादीकी उर्मिला अर्यालसँग एमालेकी विना साहले प्रतिस्पर्धा गर्नेछिन् । एमालेबाट खुलातर्फ धनुषाका असर्फी भिनवार यादव उम्मेदवार भएका छन् भने जनता समाजवादी पार्टीले उम्मेदवार तय गर्न बाँकी छ । 

बागमतीमा खुलातर्फ गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णप्रसाद पौडेल र एकीकृत समाजवादीका गोमा तिमल्सिना उम्मेदवार बनेका छन् । पौडेल र तिमल्सिनासँग एमालेबाट उम्मेदवार बनेका ललितपुरका गोपाल शाक्य र सिन्धुलीकी निरकुमारी कुँवर (निरु) दर्लामीले प्रतिस्पर्धा गर्नेछिन् ।

गण्डकीमा गठबन्धनका तर्फबाट कांग्रेसकी कमला पन्त तथा एमालेबाट उम्मेदवार बनेकी नवलपुरकी लीला पोखरेल थनेतबीच प्रतिस्पर्धा हुनेछ । गण्डकीमै एमालेले खुला पुरुषतर्फ कास्कीका पुण्यप्रसाद पौडेल र दलित कोटामा बाग्लुङका गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाएको छ । त्यहाँ गठबन्धनका तर्फबाट माओवादीले खुलामा सुरेश आलेमगर र दलित कोटामा भुवन सुनुवारलाई उठाउने भएको छ । 

लुम्बिनीमा गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा उम्मेदवार बनेका छन् भने उनीसँग एमालेबाट दाङका रामदयाल गुप्ताले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरेसँग एमालेबाट उम्मेदवार बनेकी बाँकेकी भारती खनालले प्रतिस्पर्धा गर्नेछिन् । लुम्बिनीमा दलित कोटामा एमालेले गुल्मीका कृष्णबहादुर सुनारलाई उम्मेदवार बनाउने निर्णय गरे पनि गठबन्धनका तर्फबाट उम्मेदवार तय भइसकेको छैन । 

त्यस्तै, कर्णालीमा गठबन्धनबाट खुलातर्फ एकीकृत समाजवादीका उदय बोहरासँग एमालेका चूडामणि शर्मा तथा महिलातर्फ कांग्रेसकी दुर्गाकुमारी गुरुङसँग एमालेबाट जुम्लाकी गंगा थापा महतले प्रतिस्पर्धा गर्नेछिन् । त्यस्तै, अल्पसंख्यक कोटामा गठबन्धनका तर्फबाट माओवादीका साहसी राजकुमारसँग एमालेका पदमबहादुर माझीले प्रतिस्पर्धा गर्नेछन् ।

सुदूरपश्चिममा गठबन्धनबाट कांग्रेसका नारायण मिश्र र एमालेका डिल्लीराज भट्ट तथा महिलामा मदनकुमारी शाह (गरिमा) र एमालेकी सन्तोषकुमारी शर्माबीच प्रतिस्पर्धा हुँदै छ । दलित कोटामा एमालेले बैतडीका नरेश विकलाई उम्मेदवार बनाएको छ, तर गठबन्धनका तर्फबाट माओवादी केन्द्रका जगतबहादुर पार्की उम्मेदवार बनेका छन् । 

५९ सदस्यीय राष्ट्रिय सभामा हाल अध्यक्षसहित एमालेका २४, उपाध्यक्षसहित माओवादीका १४, कांग्रेसका सात, एकीकृत समाजवादीका सात, जसपाका दुई, लोकतान्त्रिक समाजवादी पार्टीका एक, स्वतन्त्र एक र मनोनीत तीनजना छन् । चुनावपछि भने राष्ट्रिय सभाको समीकरणमा फेरबदल हुने निश्चित छ । 

मतदाता र मतभारको अवस्था यस्तो छ 
निर्वाचनमा दुई हजार २५ मतदाता छन् । प्रदेश सांसद र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष मतदाता हुन् । प्रदेश सांसदको ४८ र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको मतभार १८–१८ हुन्छ । प्रदेश १ बाहेक अन्य प्रदेशमा गठबन्धनको अग्रता छ । 

- प्रदेश १ मा जम्मा मतभार नौ हजार तीन सय १२ छ । आयोगले प्रकाशित गरेको नामावलीअनुसार यहाँ ९२ जना प्रदेश सभा सदस्य छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख दुई सय ७२ जना छन् ।

- प्रदेश २ मा नौ हजार आठ सय १६ मतभार रहेको छ । यस प्रदेशमा प्रदेश सभा सदस्य एक सय चारजना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख दुई सय ६८ जना छन् । 

- बागमतीमा प्रदेश सभा सदस्य एक सय नौजना छन्, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख दुई सय ३७ जना छन् । यसरी हेर्दा बागमती प्रदेशको मतभार नौ हजार चार सय ९८ रहेको छ । 

- गण्डकीमा प्रदेशमा पाँच हजार आठ सय ९२ मतभार रहेको छ । जसमा प्रदेश सभा सदस्य ५९ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख एक सय ७० जना छन् ।

- लुम्बिनी प्रदेशमा सात हजार सात सय ५८ मतभार रहेको छ । यस प्रदेशमा प्रदेश सभा सदस्य ८१ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख दुई सय १५ जना छन् ।

- कर्णाली प्रदेशमा चार हजार चार सय ८८ मतभार रहेको छ । यहाँ प्रदेश सभा सदस्य ३५ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख एक सय ५६ जना छन् ।

- सुदूरपश्चिम प्रदेशमा पाँच हजार ६ सय ४६ मतभार रहेको छ । यहाँ प्रदेश सभा सदस्य ५२ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख एक सय ७५ जना छन् ।

जो बिदा हुँदै छन्  

  • प्रदेश १ : अगमप्रसाद बान्तवा राई, नैनकला ओझा, परशुराम मेघी गुरुङ (सबै एमालेका)
  • प्रदेश २ : सुमनराज प्याकुरेल (एमाले), शशिकला दाहाल (माओवादी)
  • बागमती : राधेश्याम अधिकारी (कांग्रेस), उदया शर्मा पौडेल (एकीकृत समाजवादी)
  • गण्डकी : दीनानाथ शर्मा र खिमकुमार विक (माओवादी),  शान्ति जिसी (एकीकृत समाजवादी)
  • लुम्बिनी : कोमल वली र रामलखन चमार (एमाले), दृगनारायण पाण्डे (कांग्रेस)
  • कर्णाली : कविता बोगटी (एमाले), जीवन बुढा (माओवादी), ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवादी)
  • सुदूरपश्चिम : चक्रप्रसाद स्नेही (एमाले), तारादेवी भट्ट (कांग्रेस), शेरबहादुर कुँवर (एकीकृत समाजवादी)
  • मनोनीत : रामनारायण बिडारी

सुझावित समाचार