महिला भलिबल टोलीको स्वागत

शुक्रबार, १६ पुष, २०७८
डिजिटल संस्करण

एभिसी सेन्ट्रल जोन भलिबलमा ऐतिहासिक सफलता हासिल गरेर स्वदेश फर्किएको नेपाली महिला भलिबल टोलीलाई भव्य स्वागत गरिएको छ । उनीहरूलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेका थिए । 

बंगलादेशको ढाकाबाट फर्किएको भलिबल टोलीलाई स्वागत गर्न मन्त्री गहतराजसहित नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निरोज मास्केको टोली विमानस्थल पुगेको थियो । नेपाली महिला भलिबल टोलीले यसअघि सन् २०१९ मा पनि सेन्ट्रल जोन भलिबलको उपाधि जितेको थियो । 

विमानस्थलबाट खेलाडी तथा अफिसियललाई फूलमालाले सजिएको गाडीमा नगरपरिक्रमा गराउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) पुर्याइएको थियो । राखेप परिसरमा पनि उनीहरूलाई स्वागत तथा सम्मान गरिएको थियो ।

विमानस्थलमा स्वागत गर्ने क्रममा मन्त्री गहतराजले खेलाडीलाई बधाई दिँदै अर्काे प्रतियोगिताका लागि तयार भएर बस्न आग्रह गरेका थिए । बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएर दोस्रोपटक उपाधि भित्र्याएको हो । 

साविक विजेता नेपालले यसअघि बंगलादेशमै सम्पन्न पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर पहिलोपटक  उपाधि हात पारेको थियो । बुधबार मात्रै मन्त्रिपरिषद् बैठकले विजेता खेलाडीलाई जनही पाँच, प्रशिक्षकलाई तीन र अफिसियललाई दुई लाख नगद दिने निर्णय गरेको थियो । 

सुझावित समाचार