अब दैनिक पाँच लाखलाई खोप

बिहिबार, १५ पुष, २०७८
डिजिटल संस्करण

आगामी १५ दिनमा ७५ लाखलाई खोप लगाउने सरकारको लक्ष्य

कोभिड महामारीको जोखिम कम गर्न सरकारले दैनिक औसत पाँच लाखका दरले खोप लगाउने तयारी गरेको छ । आगामी दुई सातासम्म अभियान नै सञ्चालन गरेर खोप लगाउने सरकारको योजना छ । युरोपलगायत कतिपय देशमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तेस्रो लहरका रूपमा देखा परेकाले त्यसको असर नेपालसम्म पर्ने अनुमान गर्दै सरकारले यस्तो अभियान थालेको हो ।

डा. शेरबहादुर पुन, वरिष्ठ सरुवारोग विशेषज्ञ

अहिले खोप भएको अवस्थामा यसलाई सबैको पहुँचमा पुग्ने गरी लगाउनुपर्छ । खोप लगाएका मानिसमा ‘ओमिक्रोन’ संक्रमण भए पनि अस्पताल भर्ना गराउने संख्यामा धेरै कमी ल्याउनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनमा ७५ लाख नागरिकलाई खोप दिने लक्ष्य लिएको र सोही लक्ष्य पूरा गर्न अभियान थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीका स्वास्थ्यविज्ञ सल्लाहकार प्रा.डा. आरपी बिच्छाले दुई साताभित्र कम्तीमा ७५ लाखलाई खोप लगाएर थप डोज सुरु गर्ने तयारी भएको बताए । 

स्वास्थ्यसचिव डा. रोशन पोखरेलले ‘पाँच लाख प्रतिदिन, १५ दिन’ अभियानकै रूपमा सुरु भएको जानकारी दिए । सोमबारदेखि यो अभियान सुरु भएको हो । जसअनुसार सोमबार पाँच लाख ६८ हजार तीन सय १९, मंगलबार दुई लाख ८३ हजार दुई सय ६५ र बुधबार दुई लाख दुई हजार ६ सय ८७ ले खोप लगाएका छन् । नेपालमा हालसम्म दुई करोड ४० लाख २३ हजार पाँच सय ६१ ले खोप लगाएका छन् । जसमध्ये एक मात्रा लगाउने एक करोड ३७ लाख ९४ हजार चार सय १७ र दुई मात्रा लगाउने एक करोड दुई लाख २९ हजार एक सय ४४ जना छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अझै एक करोडभन्दा बढी डोज खोप मौज्दात छ । ठूलो मात्रामा खोप मौज्दात हुँदासमेत दैनिक एकदेखि डेढ लाख मात्रा खोप चल्दै आएको थियो । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले ‘ओमिक्रोन’बाट बच्न खोप अभियानलाई तीव्रता दिनुपर्ने बताए । ‘अहिले खोप भएको अवस्थामा यसलाई सबैको पहुँचमा पुग्ने गरी लगाउनुपर्छ । खोप लगाएका मानिसमा ‘ओमिक्रोन’ संक्रमण भए पनि अस्पताल भर्ना गराउने संख्यामा धेरै कमी ल्याउनेछ,’ उनले भने ।

अंग्रेजी नयाँ वर्षले गर्दा भारतमा अबको केही समयपछि संक्रमणदर बढ्ने उनको भनाइ छ । ‘नेपालमा पनि संक्रमणदर बढ्ने भएकाले खोप अभियानमा कुनै बाधा आउनुहुँदैन । जति धेरै खोप लगायो, त्यति नै ठूलो क्षति हुनबाट जोगिन्छ,’ उनले भने । खोप लगाएकामा ‘ओमिक्रोन’ संक्रमण भए पनि मृत्युदर न्यून हुने अनुमान पुनको छ । 

व्यवस्थापनमा चुनौती
सिरिन्जको संख्या न्यून भएकाले लक्ष्यअनुसार खोप सञ्चालन हुनेमा स्वास्थ्य विज्ञहरूको शंका छ । फाइजर खोप सञ्चालन गर्न घोलक र सिरिन्ज नभएकैले केही समय स्थगित भएको छ । एक साताभित्र सिरिन्ज नआए अहिले चलिरहेको भेरोसेल खोप अभियान पनि रोकिन सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन् । हाल नेपालमा ६० लाखको हाराहारीमा सिरिन्ज मौज्दात छ । यद्यपि, अभियानका रूपमा खोप सञ्चालन गर्न सिरिन्ज पर्याप्त रहेको स्वास्थ्य मन्त्रालयको दाबी छ । ‘दैनिक पाँच लाख लगाउन सक्छौँ भनेका छौँ, लगाउने कति आउँछन्, त्यसमा भर पर्छ,’ स्वास्थ्य विभागको खोप शाखाप्रमुख सागर दाहालले भने । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार