माघे संक्रान्तिमा राइनासमा फुटबल प्रतियोगिता

आइतबार, ११ पुष, २०७८
डिजिटल संस्करण

राइनास नगरपलिका–६ गौलीटारमा लमजुङ पालिकास्तरीय धमिलिकुवा फुटबल कप हुने भएको छ । गौलीटार क्षेत्रीय खेलमैदान समितिले माघे संक्रान्तिका अवसरमा उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष टकेन्द्रनाथ चिलुवालले प्रतियोगिताले गौलीटार खेलमैदान जिल्लाकै ठूलो भएकाले यसको प्रचार–प्रसार र नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने बताए ।

प्रतियोगिताका लागि राइनास नगरपालिकाको कार्यपालिका बैठकले आठ लाख रुपैयाँ विनियोजन गरिसकेको राइनास नगर कार्यपालिकाका सदस्य अर्जुन भुजेलले बताए ।

जसअन्तर्गत पहिलो हुने टिमलाई एक लाख ५० हजार नगद, कप, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई एक लाख नगद, मेडल र प्रमाणपत्र, सेमीफाइनालका उपविजेता २ टिमलाई २५÷२५ हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । 

सेमिफाइनल खेलदेखि म्यान अफदी म्याच घोषणा गर्ने र उनीहरूलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गर्नुका साथै सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र अनुशासित टिमलाई १०/१० हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । गौलीटारमा १५० रोपनी जग्गामा फुलसाइजको फुटबल खेल मैदान निर्माण गर्नका लागि ०६९ सालदेखि काम थालिएको  समितिका अध्यक्ष चिलुवालले बताए । 

सुझावित समाचार