कैदीका नाइके भगाउन तीनजनाको मिलेमतो रहेको पुष्टि

शुक्रबार, ९ पुष, २०७८
डिजिटल संस्करण

प्रहरीकै मोटरसाईकल लिएर कैदी फरार : एक जना प्रहरी जवान र दुई जना बाहिरका मान्छेको मिलेमतो

दाङको घोराही कारागारका कैदीलाई भगाउन सहयोग गर्ने थप एकजनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक  सुरेश काफ्लेले तीनजनाको मिलेमतोमा कैदीलाई भगाइएको  बताए । एकजना प्रहरी जवान र दुईजना बाहिरका मान्छेको मिलेमतो रहेको देखिएपछि सोहीअनुसार अनुसन्धान अघि बढाइएको उनको भनाइ छ । 

कैदी भगाउन सहयोग गर्ने प्रहरी जवान धनबहादुर चौधरीलाई बिहीबार नै पक्राउ गरी अनुसन्धान थालिएको छ । अन्य  दुईमध्ये एकजनालाई शुक्रबार बिहान पक्राउ गरिएको र अर्का एकजनाको खोजी भइरहेको प्रहरी प्रमुख काफ्लेले बताए ।

‘तीनजनाको मिलेमतोमा भगाइएको हाम्रो अनुसन्धानले देखाएको छ, तीमध्ये प्रहरी जवानलाई हिजै पक्राउ गरिसक्यौँ, अर्का एकजनालाई आज बिहान पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ,’ काफ्लेले भने, ‘थप अर्का एकजनाको पनि खोजी कार्य भइरहेको छ ।’ अहिले अनुसन्धानमै रहेकाले उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन । 

फोन ट्रयाकिङकाे आधारमा अनुसन्धान गर्दा उनीहरूको संलग्नता भएको देखिएको प्रहरीले बताएको छ । कैदीका नाइकेसमेत रहेका दाङ राजपुर गाउँपालिकाको बेलाका निवासी २७ वर्षीय जयराम परियार बिहीबार बिहान ११ बजेतिर प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई घोराही कारागारमा जेलजीवन बिताइरहेका उनी छालाको बिरामी थिए  । 

त्यसकै उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र उपचारका क्रममा ती व्यक्तिको हतकडी खोलिएको थियो । त्यही मौकामा उनी प्रहरीकै लु.३४प ४१० नम्बरको मोटरसाइकल चढेर फरार भएका छन् । उनलाई प्रहरी जवान चौधरीले नै सोही मोटरसाइकलमा राखेर अस्पताल लगेका थिए । 

घटना बिहानको समयमा भएको थियो, तर प्रहरी जवान चौधरीले साँझ ४ बजे मात्रै खबर गरेपछि उनकै मिलेमतोमा भगाइएको आशंका गरिएको छ  । ती कैदीले सात वर्ष जेलजीवन बिताइसकेका थिए । उनको खोजी  कार्य  भइरहेको प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार