महसुल नतिरेपछि क्रिकेट रंगशालाको लाइन काटियो

बिहिबार, ८ पुष, २०७८
डिजिटल संस्करण

आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विद्युत् महसुल नतिरेपछि लाइन काटिएको छ। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो। 

प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रंगशालाको विद्युत् महसुल आठ लाख ८७ हजार रुपैयाँ पुगेको छ। यो महसुल चार महिनादेखि भुक्तानी नभएपछि लाइन काटिएको उनले बताए। धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माणको नेतृत्व गरेको रंगशालामा आर्थिक अभाव भएपछि फाउन्डेसन निर्माणबाट पछि हटेको छ। फाउन्डेसनले १७ करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको भन्दै स्वामित्व लिइदिन भरतपुर महानगरपालिकालाई अनुरोधसमेत गरेको छ। 

प्राधिकरणले मदिरा उत्पादक कम्पनी माउन्ट एभरेस्ट ब्रुअरीले ३७ लाख ४१ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी रहेपछि सो उद्योगको पनि लाइन काटेको छ। यससँगै साना १२ फर्म तथा संस्थाको लाइन काटिएको पौडेलले जानकारी दिए। ५० हजारभन्दा बढी ग्राहक रहेको भरतपुर वितरण केन्द्रमा ६० दिन नाघेका बक्यौतासहित एक करोड ४० लाख रुपैयाँ हाराहारी महसुल उठ्न बाँकी रहेको कार्यालयले जनाएको छ। विगत केही वर्षअघि यस कार्यालयमा बक्यौता मात्र सात करोड रुपैयाँसम्म पुगेको पौडेलले जानकारी दिए। पछिल्ला वर्षहरूमा महसुल असुलीमा कडाइ गरेपछि बक्यौता घटेको छ। रासस

सुझावित समाचार