कास्की र रसुवामा लक्षित वर्गको ९० प्रतिशतभन्दा बढीले लगाए खोप, हालसम्म तीन करोड ५४ लाख ६६ हजार नौ सय ८० डोज खोप भित्रियो
प्रदेश २ मा लक्षित वर्गका ६७ प्रतिशत जनसंख्या खोपको पहुँचबाहिर छन् । प्रदेशका आठवटै जिल्लामा खोप लगाउनेको संख्या ३३ प्रतिशत छ, जुन सबैभन्दा कम हो । सबैभन्दा बढी पर्सा र सप्तरीमा ३५ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् ।
लक्षित वर्गअन्तर्गत सिरहामा ३३ र धनुषामा ३४ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् । यसबाहेक महोत्तरी, सर्लाही, रौतहट र बारामा क्रमशः ३१, ३७, ३० र ३३ प्रतिशत जनसंख्याले खोप लगाएका छन् । प्रदेश २ मा सरकारले कोभिड खोप लगाउन छुट्याएको लक्षित उमेर समूहभित्रको जनसंख्या ४१ लाख ६० हजार ४२५ छ ।
प्रदेश १ का नौ जिल्लामा खोपको पहुँचमा आधाभन्दा कम जनसंख्या मात्र पुगेको देखिन्छ । खोपको पूर्ण मात्रा लगाएका जनसंख्याको आधारमा सोलुखुम्बु ३७ प्रतिशत, ओखलढुंगा ४५ प्रतिशत, भोजपुर ४८ प्रतिशत र तेह्रथुम ४३ प्रतिशतले मात्र खोपको पूर्ण मात्रा लगाएका छन् । यस्तै पाँचथर ४५ प्रतिशत, इलाम ४२ प्रतिशत, झापा ४९ प्रतिशत, मोरङ ४३ र सुनसरीमा ४१ प्रतिशतले खोप लगाएको विभागको तथ्यांक छ ।
बाग्मती प्रदेशका दोलखा, धादिङ, सिन्धुली र मकवानपुरमा पूर्ण मात्रा लगाउनेको संख्या आधाभन्दा कम छ । विवरणअनुसार दोलखामा ४६, धादिङमा ४७, सिन्धुलीमा ३९ र मकवानपुरमा ४५ प्रतिशतले पूर्ण खोप पाएका छन् ।
डा. सन्तोष दुलाल, भाइरोलोजिस्ट
नयाँ भेरियन्टमा खोप प्रभावकारिता न्यून देखिएपछि पनि खोप लगाउन नमान्नेको संख्या घटेको अनुमान गर्न सकिन्छ । सहरी क्षेत्रमा खोप कार्यक्रम प्रभावकारी देखिए पनि ग्रामीणस्तरमा खोपमा चासो घट्दै गएको देखिन्छ । लगातार नयाँ स्वरूप आइरहेकाले खोपको आवश्यकता झन् बढेको छ, आममानिसमा खोपको आवश्यकताबारे जनचेतना जरुरी देखिन्छ ।
गण्डकी प्रदेशमा तनहुँ र नवलपरासीबाहेक अन्य जिल्लामा खोपको पहुँच रहेको जनसंख्या झन्डै औसत ६० प्रतिशतभन्दा बढी छ । हालसम्म तनहुँमा लक्षित वर्गका ४८ र नवलपरासीमा ४३ प्रतिशतले खोप लगाएका छन् ।
तर, विभागले मनाङ र मुस्ताङमा लक्षित वर्गले झन्डै दुईपटक खोप लगाएको तथ्यांक सार्वजनिक गरेको छ । लक्षित उमेर समूहमा परेको जनसंख्या हेर्दा थोरैले खोप लगाए पनि यी जिल्लाले यसअघि नै खोप लगाइसकेको दाबी गर्दै आएका छन् । विभागको तथ्यांकअनुसार मनाङमा १११ प्रतिशत र मुस्ताङमा १८२ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् । तर, खोप लगाएको संख्या र कुल जनसंख्याको आधारमा यस्तो नदेखिएको बताउँछन् बाल स्वास्थ्य र खोप सेवा शाखाका प्रमुख सागर दाहाल । ‘जिल्लाबाट आएको विवरणले यस्तो तथ्यांक देखाएको छ । हाल यी जिल्लामा खोप सञ्चालनमा छैन । तत्काल जिल्लाबाट आएको तथ्यांक मात्र सम्पादन भइरहेकाले भेरिफाई गरिएको छैन । विभिन्न जिल्लाले पूर्ण खोप घोषणा गरे पनि उमेर समूह, महिला र पुरुष सबै कोणबाट भेरिफाइ गरेपछि मात्र यो पुष्टि हुन्छ,’ उनले भने ।
लुम्बिनी प्रदेशमा बाँकेबाहेक सबै जिल्लामा पूर्ण खोप लगाउने संख्या आधा प्रतिशतभन्दा कम छ । हालसम्म रुकुम पूर्वमा ४५ प्रतिशत, रोल्पामा ३७ प्रतिशत, प्युठानमा ३६ प्रतिशत, गुल्मीमा ४० प्रतिशत, अर्घाखाँचीमा ३९ प्रतिशत, पाल्पामा ४६ प्रतिशत, नवलपरासी पश्चिममा ३५ प्रतिशत, रूपन्देहीमा ४५ प्रतिशत, कपिलवस्तुमा ३३ प्रतिशत, दाङमा ३४ प्रतिशत र बर्दियामा ४० प्रतिशतले खोपको पूर्ण मात्रा लगाएको विभागको तथ्यांक छ ।
कर्णालीकाा सुर्खेत र मुगुमा मात्र खोप लगाउने संख्या आधा प्रतिशत नाघेको छ । यसबाहेकका डोल्पामा ४१ प्रतिशत, हुम्लामा २५ प्रतिशत, जुम्लामा ३०, कालिकोटमा ३२, दैलेखमा २३ र जाजरकोटमा १८ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् । योसँगै हालसम्म खोप लगाएका संख्याको आधारमा सबैभन्दा कम खोप जाजरकोटमा प्रयोग भएको छ । रुकुम पश्चिममा ३३ र सल्यानमा ३२ प्रतिशतले खोपको पूर्ण डोज लगाएका छन् ।
सुदूरपश्चिम प्रदेशको दार्चुलामा लक्षित वर्गको ६७ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन्, जुन सबैभन्दा धेरै हो । बाजुरामा ३६, बझाङमा ४४, बैतडीमा ४४, डडेल्धुरामा ३५, डोटीमा ३८, अछाममा ३४, कैलालीमा ४६ र कञ्चनपुरमा ३९ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएको तथ्यांक छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार उपलब्ध खोपबाहेक अझै एक करोड ३९ लाखभन्दा बढी खोप मौज्दात छ । बालबालिकामा समेत ५७ जिल्लामा मोडेर्ना खोप आइतबारदेखि सञ्चालनमा आएको छ । तर, खोप प्रशस्त हुँदासमेत कतिपयले खोप लगाउन नमान्दा संख्या न्यून देखिइरहेको विज्ञहरू बताउँछन् । ‘नयाँ भेरियन्टमा खोप प्रभावकारिता न्यून देखिएपछि पनि खोप लगाउन नमान्नेको संख्या घटेको अनुमान गर्न सकिन्छ । सहरी क्षेत्रमा खोप कार्यक्रम प्रभावकारी देखिए पनि ग्रामीणस्तरमा खोपमा चासो घट्दै गएको देखिन्छ । लगातार नयाँ स्वरूप आइरहेकाले खोपको आवश्यकता झन् बढेको छ, आममानिसमा खोपको आवश्यकताबारे जनचेतना जरुरी देखिन्छ,’ भाइरोलोजिस्ट डा. सन्तोष दुलालले भने ।
लक्षित जनसंख्याको ६० दशमलव ७ प्रतिशतले लगाए खोपको पहिलो मात्रा
सरकारले लक्षित उमेर समूहमा यो वर्षको अन्तिम (चैत)सम्म कोभिडविरुद्धको पूर्ण डोज लगाइसक्ने लक्ष्य लिएको छ । अनुदान र खरिदमार्फत हालसम्म कोभिसिल्ड, भेरोसेल, जोनसोन, मोडेर्ना र फाइजर खोप गरी दुई करोड १७ लाख ५६ हजार ७८३ डोज खोप प्रयोगमा आइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लक्षित जनसंख्याको ६० दशमलव ७ प्रतिशतमा खोपको पहिलो मात्रा र ४८.४ प्रतिशतले खोपको पूर्ण डोज लगाइसकेका छन् । अधिकांश जिल्लामा खोप लगाउनेको संख्या ७० प्रतिशतभन्दा बढी भएकाले यस वर्षभित्र लक्षित वर्गमा खोप लगाउन लक्ष्यको नजिक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको विवरणअनुसार हालसम्म तीन करोड ५४ लाख ६६ हजार नौ सय ८० डोज कोरोनाविरुद्धको खोप नेपाल भित्रिसकेको छ । खोप पर्याप्त मात्रामा उपलब्ध भएकाले आममानिसलाई समयमै खोप लगाउन मन्त्रालयले आग्रहसमेत गर्दै आएको छ ।
शनिबारसम्मको विवरणअनुसार दुईवटा जिल्लामा लक्षित जनसंख्याको ९० प्रतिशतभन्दा बढी खोप प्रयोगमा आएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप सेवा शाखाको तथ्यांकअनुसार सबैभन्दा बढी कास्कीमा खोप प्रयोगमा आएको छ । कास्कीमा लक्षित वर्गको ९९ प्रतिशतमा खोपको पूर्ण डोज प्रयोगमा आएको हो । कास्कीमा तीन लाख ९१ हजार दुई सय चारजना लक्षित उमेर समूह छन् । जसमध्ये सात लाख ३५ हजार पाँच सय ९६ डोज खोप प्रयोगमा आइसकेको छ ।
रसुवामा समेत लक्षित उमेर समूहको ९४ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् । २९ हजार सात सय ७१ लक्षित जनसंख्यामा हालसम्म २७ हजार नौ सय १० जनाले खोपको पूर्ण डोज लगाएका हुन् । विभागको विवरणअनुसार रसुवामा पहिलो डोज लगाउनेको संख्या ९१ प्रतिशत पुगेको छ ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा लक्षित जनसंख्यामा खोपको पूर्ण डोज ८० प्रतिशतभन्दा बढीले लगाएका छन् । काठमाडौंमा ८६ प्रतिशत, भक्तपुरमा ८१ प्रतिशत र ललितपुरमा ८३ प्रतिशतले खोप लगाएका छन् । शुक्रबारसम्मको तथ्यांकअनुसार काठमाडौंमा २६ लाख २१ हजार ९६८ जना, भक्तपुरमा तीन लाख ७४ हजार ७८० र ललितपुरमा ६ लाख ८३ हजार ६५२ डोज खोप प्रयोगमा आएको छ । योसँगै काठमाडौं सबैभन्दा बढी खोप प्रयोगमा आउने जिल्ला बनेको छ ।
४१ देशमा १० प्रतिशतभन्दा कम खोप प्रयोग
हालसम्म विश्वभर आठ अर्ब डोज खोप प्रयोगमा आइसकेको छ । यद्यपि कम आय भएका देशमा करिब ७ दशमलव ६ प्रतिशत जनसंख्याले मात्र कम्तीमा एउटा डोज खोप पाएका छन् । अफ्रिकाका कतिपय देशमा अझैसम्म भ्याक्सिनको प्रयोग १० प्रतिशतभन्दा कम रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को विवरणले देखाउँछ । धनी देशहरूमा प्रशस्त मात्रामा खोप मौज्दात भए पनि कतिपय देशसँग कोरोना महामारीको दुई वर्ष पुग्दासमेत खोपको पहुँचमा नहुनु दुर्भाग्य रहेको विज्ञहरू बताउँदै आएका छन् । डब्लुएचओको तथ्यांकअनुसार केन्या, इथियोपिया, नाइजेरिया, तान्जानियाजस्ता ४१ वटा देशमा लक्षित जनसंख्याको १० प्रतिशतभन्दा कमले मात्र खोपको प्रयोग गरेका छन् । ९८ वटा देशमा खोपको प्रयोग ४० प्रतिशतभन्दा न्यून छ ।
विश्वभर लक्षित जनसंख्याको ४८ प्रतिशतले कोभिडविरुद्धको खोप लगाएका छन् । जसमध्ये सबैभन्दा बढी अमेरिकामा ९२ प्रतिशत, बु्रनाईमा ८९ प्रतिशत, पोर्चुगलमा ८८ प्रतिशत, चिली र माल्टामा ८६ प्रतिशत जनसंख्याले खोप लगाएको डब्लुएचओको तथ्यांक छ । यसबाहेक सिंगापुर, दक्षिण कोरिया, स्पेन, मलेसिया, चीनलगायत एक दर्जनभन्दा बढी देशले लक्षित जनसंख्याको ८० प्रतिशतभन्दा बढी खोप प्रयोग भएको बताएका छन् । कोभिड संक्रमणका कारण विश्वभर ५३ लाख ६६ हजारभन्दा बढीको ज्यान गएको छ । २७ करोडभन्दा बढी मानिस कोभिड संक्रमित बनेका छन् । तर, कोभिड संक्रमण नयाँ स्वरूपमा देखिने क्रम बढ्दै जानुले महामारी अझै बाँकी रहेको विज्ञहरूको भनाइ छ ।
प्रदेशमा कहाँ कति खोप ?
प्रदेश १ : ५० प्रतिशतभन्दा कम
प्रदेश २ : ३३ प्रतिशत
बागमती : ५० प्रतिशतभन्दा कम
गण्डकी : करिब ६० प्रतिशत
लुम्बिनी : करिब ५० प्रतिशत
कर्णाली : ५० प्रतिशतभन्दा बढी
सुदूरपश्चिम : ६७ प्रतिशत
नयाँ भेरियन्टमा खोप प्रभावकारिता न्यून देखिएपछि पनि खोप लगाउन नमान्नेको संख्या घटेको अनुमान गर्न सकिन्छ । सहरी क्षेत्रमा खोप कार्यक्रम प्रभावकारी देखिए पनि ग्रामीणस्तरमा खोपमा चासो घट्दै गएको देखिन्छ । लगातार नयाँ स्वरूप आइरहेकाले खोपको आवश्यकता झन् बढेको छ, आममानिसमा खोपको आवश्यकताबारे जनचेतना जरुरी देखिन्छ ।