‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ पोखराको लेखनाथमा आउँदो माघ दोस्रो सातादेखि १७औँ लेखनाथ महोत्सव २०७८ हुने भएको छ। विभिन्न संघ संस्थाहरूको सहयोग र सहभागितामा १३ देखि २४ माघसम्म महोत्सव हुने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजनामा हुने महोत्सवलाई नेपाल पर्यटन बाेर्डले प्रवर्द्धन गर्ने आयोजकले जनाएको छ। पोखरा–२७ तालचोक डाँडाकोनाकस्थित प्रदर्शनीस्थलमा आयोजना हुने महोत्सवल आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए।
महोत्सवले औद्योगिक उत्पादनसहित हस्तकलाका सामानहरूको बजार पहिचान, प्रवर्धन गरी स्थानीय उत्पादन, उद्यमशीलता र प्रविधि हस्तान्तरणमा सहयोग गर्ने अपेक्षा लिइएको छ। तीन सय स्टल रहने महोत्सवको दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान छ।