२५ हजार बढी महसुल भएका सेवाग्राहीको लाइन काट्दै वीरगन्ज वितरण केन्द्र

आइतबार, ४ पुष, २०७८
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले पछिल्लो साढे दुई महिनाको अवधिमा करिब सात सय सेवाग्राहीको लाइन काटेको छ। वीरगन्ज वितरण केन्द्रले मिटरको बिलिङ भएको दुई महिनासम्म बिजुलीको महसुल भुक्तानी नगरेका सेवाग्राहीको लाइन काटेको हो।

करिब २५ हजारभन्दा बढी महसुल रकम भएका सेवाग्राहीले महसुल भुक्तानी गर्न वास्ता नगरेपछि मिटरको लाइन काटिएको वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र झाले जानकारी दिए। २५ हजारभन्दा बढी रकम भएको सेवाग्राहीको लाइन कटान गर्न अभियान चलाइएपछि भुक्तानी गर्नेहरू पनि बढेको झाले बताए।
 
विगतमा महसुल बुझाउनका लागि गम्भीर नभएका सेवाग्राहीले यो अभियान सुरु भएपछि अहिले दैनिक रूपमा महसुल बुझाउन थालेका छन्। अहिले लाइन काटिएको सेवाग्राहीमध्ये ७० प्रतिशतले महसुल बुझाएर लाइन जडान गराइसकेको झाले जानकारी दिए। उनका अनुसार बिलिङ भएको ६० दिनसम्म रकम नबुझाएका ६६४ सेवाग्राहीको लाइन काटिएको छ। त्यसमध्ये ५५४ जनाले महसुल तिरेर पुनः जडान गराएका छन्। ६६४ सेवाग्राहीबाट ७ करोड १८ लाख ९८ हजार महसुल उठाउनुपर्नेमा ५५४ सेवाग्राहीबाट ५ करोड ९४ लाख ३१ हजार ६ सय महसुल असुली भएको उनले जानकारी दिए।

मासिक ३५ देखि ४० करोड महसुल संकलन
नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले मासिक रूपमा ३५ देखि ४० करोड महसुल संकलन गर्दै आएको जनाएको छ। वितरण केन्द्रमार्फत जडान भएको ७ सय मिटरबापत उक्त मात्रामा महसुल संकलन हुँदै आएको प्रमुख इन्जिनियर झाले बताए।

झाका अनुसार वितरण केन्द्रमा ४ करोड युनिट विद्युत् आयात हुँदै आएकोमा ३ करोड ८० लाख युनिट मात्र बिक्री वितरण हुँदै आएको छ। अहिले विद्युत् आपूर्ति बढाउनका लागि विभिन्न क्षेत्रमा काम पनि भइरहेको उनले जानकारी दिए।

हुकिङ गरेर विद्युत् चुहावट भएको खबरका आधारमा केन्द्रले नियन्त्रणमा लिएर कारबाही गरी जरिवाना पनि असुल्दै आएको छ। केन्द्रको तथ्यांकअनुसार करिब दुई महिनामा हुकिङ गरेर विद्युत् चुहावट गर्ने ३९ जनालाई कारबाही गरिएको छ। उनीहरूबाट विद्युत् चुहावट जरिवानाबापत करिब ३० लाख रकम असुल भएको छ।

सुझावित समाचार