नयाँ पत्रिकाकर्मी शिवहरि घिमिरेलाई पुरस्कृत गरिएको छ। २७औँ महानगर दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले घिमिरेसहित १० जना पत्रकारलाई सुशासन पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो। पुरस्कृत हुनेमा नयाँ पत्रिकाकर्मी घिमिरे, नेपाल समाचारपत्रका सुनील महर्जन, स्थानीय खबर डटकमका रन्जित तामाङ, नागरिक दैनिकका निल सायमी, झिगु स: का विराज राजोपाध्याय, महानगर खबरका अजय खड्गी, थाहा खबरकी सन्जिता आचार्य, क्लिकमान्डु डटकमका सोभित थपलिया, न्युज अजेन्सीका अनिश अविरल र ई ल्वहं प्रकाशन प्रालि छन्।
पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ। दिवसको अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले नगद र प्रमाणपत्रसहित पुरस्कार प्रदान गरे। स्थापना दिवसका सन्दर्भमा महानगरले दुईजना जनप्रतिनिधि र दुईजना कर्मचारीलाई जनकमान श्रेष्ठ सुशासन पुरस्कार प्रदान गरेको छ। त्यस्तै, पाँचजना जनप्रतिनिधि र पाँचजना कर्मचारीलाई स्थानीय सेवा गौरव पदक प्रदान गरेको छ भने विभिन्न गुठी, बाजा र जात्राका २ सयजना गुरुहरूलाई नगदसहित सम्मान–पत्र प्रदान गरेको छ।