आजबाट संसद्को ११औँ अधिवेशन

मंगलबार, २८ मंसिर, २०७८
डिजिटल संस्करण
आजबाट संसद्को ११औँ अधिवेशन

बैठक हल निरीक्षण गर्दै सभामुख अग्नि सापकोटा । तस्बिर : रासस

प्रतिनिधिसभाको दशौँ र राष्ट्रिय सभाको एघारौँ अधिवेशन आज (मंगलबार)बाट सुरु हुँदै छ । संसद् सचिवालयले निकालेको प्रारम्भिक कार्यसूचीअनुसार अध्यादेश पेसबाहेक अन्य कार्यसूची छैन । 

बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल हुन सक्ने अड्कलबाजी भए पनि प्रारम्भिक कार्यसूचीमा छैन । माओवादीका प्रमुख सचेतक देव गुरुङले एमसिसी टेबुल हुनेबारे सरकारका तर्फबाट कुनै सूचना नपाएको बताए । ‘संसद्मा एमसिसी ल्याउने प्रयास हुन सक्छ । तर, त्यसबारे सरकारबाट सदनलाई अहिलेसम्म खबर गरिएको छैन । त्यस्तो प्रस्ताव आएको छैन र छलफल पनि भएको छैन,’ गुरुङले भने । 

मंगलबारको बैठकमा नेपाल प्रहरी प्रदेश प्रहरी, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, सामाजिक सुरक्षा, यौनहिंसा, फौजदारी कसुर र रेल्वे अध्यादेश पेस हुनेछ ।

अघिल्लो अधिवेशन अवधिभर संसद्मा अवरोध पुर्‍याएको एमालेले यसपटक के गर्ला भन्ने चासो छ । बैठकमा प्रस्तुत हुने रणनीति बनाउन एमालेले मंगलबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । बैठकपछि दलको रणनीति तय हुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए । ‘अघिल्लो अधिवेशनमा संसद्मा विरोध गरेको हो । यो अधिवेशनमा के गर्ने भन्ने विषयमा मंगलबार संसदीय दलको बैठक छ । त्यहीँबाट रणनीति तय हुन्छ,’ भट्टराईले भने । 

एमालेले अवरोध जारी राखे संसद् बैठक सञ्चालन हुन नसक्ने माओवादीका प्रमुख सचेतक देव गुरुङले बताए । ‘एमालेले संसद्मा अवरोध पुर्‍याउँदै आएको थियो । यसपटक पनि उसले नाराबाजी गर्‍यो भने बैठक बस्ने अवस्था हुँदैन,’ गुरुङले भने, ‘संसद् जाने र उहाँहरूको नाराबाजी सुनेर फर्किनुको कुनै अर्थ छैन ।’ 

विपक्षी दलले सदन अवरोध गर्दा अघिल्लो अधिवेशनमा विधेयकमाथिको काम रोकिएको थियो । संसद्मा अहिले ५७ वटा विधेयक प्रक्रियामा छन् । गत अधिवेशनमा बजेटबाहेक अन्य विधेयकमाथि काम भएको थिएन । 

संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले ११औँ अधिवेशनमा विधेयकहरू अगाडि बढ्न सक्ने बताए । ‘विधेयकमाथि काम हुन सकेको छैन । सदन सञ्चालन हुँदा पुराना विधेयकमाथि काम हुन्छ । सरकारले नयाँ विधेयक ल्यायो भने त्यो पनि अघि बढ्छ । सांसद वा सरकारबाट नयाँ प्रस्ताव आयो भने त्यसमाथि छलफल हुन सक्छ,’ उनले भने । 

संसद् अवरोध कानुनसम्मत छैन– सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरूसँग छलफल गर्ने र आवश्यकताअनुसार सर्वदलीय बैठक राख्ने बताएका छन् । १४ जना सांसद कारबाही प्रकरणमा आफू नियमसंगत ढंगले अघि बढेको सभामुख सापकोटाको भनाइ थियो । सोमबार संसद् भवन निरीक्षणका क्रममा उनले पत्रकारसँग भने, ‘उहाँहरू(एमाले)ले जे गरिराख्नुभएको छ त्यो संविधान र कानुनअनुसार छैन । नेपाली जनताले यसलाई छर्लंग बुझेका छन् । जहाँसम्म मेरो सवाल छ, मैले तटस्थ, निष्पक्ष, स्वतन्त्र रूपमै काम गरेको छु । नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर नै सबै काम गरेको छु र सधैँभरि त्यही गर्न म प्रतिबद्ध छु ।’

समाजवादी पार्टीको प्रमुख सचेतकमा श्रेष्ठ 
संसद्को चौथो शक्ति एकीकृत समाजवादीले प्रतिनिधिसभाको संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई चयन गरेको हो । त्यसैगरी बैठकले पार्टीका तर्फबाट राष्ट्रिय सभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको जनाइएको छ । मंगलबारबाट संसद् बैठक सुरु हुन लागेकाले सो पार्टीले सोमबार संसद्का लागि नेताहरूलाई जिम्मा दिएको हो । एकीकृत समाजवादीका प्रतिनिधिसभा २३ र राष्ट्रिय सभामा सात सांसद छन् । एमालेबाट विभाजन भएर एकीकृत समाजवादी पार्टी गठन भएको थियो । निर्वाचन आयोगले गत ९ भदौमा यसलाई मान्यता दिएको थियो । समाजवादीका सांसदहरूको उपस्थितिलाई लिएर प्रमुख प्रतिपक्ष दल एमालेले यसअघिको संसद् अधिवेशनका सबै बैठक अवरोध गरेको थियो ।

आठदलीय मोर्चाद्वारा एमसिसीको नेपाल कार्यालय घेराउ, आज संसद् भवन घेर्ने
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को नेपालमा रहेको कार्यालय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित आठदलीय मोर्चाले घेराउ गरेको छ । एमसिसी सम्झौता खारेजको माग गर्दै सोमबार नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, सिपी मैनालीको माले, ऋषि कट्टेलको नेकपा, आहुतीको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा नेपालले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।

काठमाडौंको दरबारमार्गको एउटा होटेलमा रहेको एमसिसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) को कार्यालयबाहिर उनीहरूले संयुक्त प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले राष्ट्रिय स्वाधीनताको रक्षा गर्नका लागि भए पनि एमसिसी नेपालबाट फिर्ता पठाउनुपर्ने बताए । 

‘एमसिसी सम्झौतामा भएका प्रावधानले नेपालको राष्ट्रिय स्वाधीनता, राष्ट्रिय सुरक्षा र नेपालको कानुनको धज्जी उडाएको छ । जसरी इस्ट इन्डिया कम्पनी भारतमा आएर कब्जा गरेको थियो, ठीक त्यसकै अर्को रूप हो एमसिसी,’ उनले भने, ‘भारतका पुँजीपतिलाई केही डल्ला सुन दिएर जसरी बेलायत भारत पसेको थियो, त्यसैगरी अमेरिका डलर देखाएर नेपाल आउन खोज्दै छ । यसलाई जसरी पनि रोक्नुपर्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चनले एमसिसी जसरी पनि खारेज हुनुपर्ने बताए । ‘कसैले जस्ताको तस्तै संसद्बाट पास गर्न नहुने भनेका छन्, कसैले संसद्मा नलगेर सीधै लागू गरौँ भनेका छन्, कसैले परियोजना ठीक भएको र यसलाई संसद्ले छिटो अनुमोदन गर्नुपर्ने भनेका छन्,’ उनले भने, ‘एमसिसी नेपालका लागि घातक छ । यो कुनै पनि हालतमा लागू गर्नुहुँदैन । यसलाई सीधै मन्त्रिपरिषद्को निर्णयबाट खारेज गर्नुपर्छ ।’ उनले अमेरिकाले नेपाललाई सैन्य अखडा बनाउन एमसिसीलाई माध्यम बनाएको दाबी गरे ।

नेकपासहित विभिन्न राजनीतिक दलहरूले पूर्वघोषित संघर्षको कार्यक्रमअन्तर्गत आज बानेश्वरस्थित संसद् भवन घेराउ गर्ने बताएका छन् । आजै अमेरिकाको न्युयोर्कमा नेपाललाई समेत एजेन्डा बनाएर एमसिसीको बोर्ड अफ डाइरेक्टरको बैठक बस्दै छ । एमसिसीले परियोजना लागू गर्नका लागि नेपालले संसद्बाट अनुमोदन गराउनुपर्ने सर्त राख्दै आएको छ । यता नेपालमा सत्तारुढ गठबन्धनले संसद्को अधिवेशन बोलाएको छ । तर, सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गर्ने–नगर्ने विषयमा भने अझै टुंगो लागिसकेको छैन ।

सांसदहरूको एन्टिजेन परीक्षण

संसद् भवन बानेश्वरमा सोमबार एन्टिजेन परीक्षण गर्दै राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहाल । तस्बिर : रासस

संसद् बैठक सञ्चालन हुने भएपछि सांसद, संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालकलगायतको एन्टिजेन परीक्षण गरिएको छ । संसद् सचिवालयले सोमबार दिउँसो ११ बजेदेखि ३ बजेसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाएको थियो । विगतमा पनि संसद् अधिवेशन सुरु हुनुअघि संसद् सचिवालयले कोभिड– १९ परीक्षण गरेको थियो ।

एन्टिजेन परीक्षणमा एक सय ५७ जना सांसद सहभागी भएका थिए । जम्मा पाँच सय ४० जनाको परीक्षण भएको सचिवालयले बताएको छ । एन्टिजेन परीक्षणमा दुईजनालाई कोभिड पोजेटिभ शंका गरिएपछि पिसिआर परीक्षणका लागि पठाइएको संसद् सचिवालयले बताएको छ । ‘एक सुरक्षाकर्मी र एकजना कर्मचारीलाई पिसिआर गर्न पठाइएको छ,’ सचिवालयका एक कर्मचारीले भने ।

सुझावित समाचार