कोसी करिडोरको काम ९० प्रतिशत सकियो, चार महिनामा सम्पन्न हुने

बुधबार, २२ मंसिर, २०७८
डिजिटल संस्करण

ताप्लेजुङको मैवाखोला गाउँपालिका–१, ढुंगेसाँघुमा निर्माणाधीन दुई सय २० केभिए कोसी करिडोर विद्युत् सबस्टेसनको काम ९० प्रतिशत सकिएको छ । सन् २०१८ जुनदेखि सुरु भएको कोसी करिडोर २०२० डिसेम्बरसम्ममा सक्नुपर्ने थियो । तर, कारोनाको कारण देखाउँदै पहिलोपटक सन् २०२१ डिसेम्बरसम्म म्याद थपिएको छ । यो अवधिमा पनि निर्माण कार्य नसिकने भएपछि फेरि म्याद थप्ने तयारी भएको छ । 

काम सुरु भएकोे चार वर्षको अवधिमा सबस्टेसनको स्ट्रक्चरको काम सकिएको साइट इन्चार्ज इन्जिनियर रवीन्द्र झाले बताए । उनका अनुसार भवन निर्माण, ट्रान्सफर्मर राख्ने केन्द्रको व्यवस्थापनजस्ता काम सकिएको छ । अब अर्थ कटिङ, फिलिङ तथा सामान्य कामहरू बाँकी रहेको र सो पनि चार महिनाभित्र सकिने झाले बताए । 

ठेक्का सम्झौताअनुसार तेह्रथुमको वसन्तपुरदेखि अहिले निर्माण भइरहेको कोसी करिडोर सबस्टेसनसम्म लाइन ल्याउनुपर्नेछ । त्यसका लागि अहिले एक सय ३२ विद्युत् टावर बनाउनुपर्नेमा ९७ वटा टावर बनाइसकिएको इन्जिनियर झाले बताए । अहिले ३५ वटा टावरको पनि काम भइरहेको छ । झन्डै दुई सय रोपनी क्षेत्रफलमा फैलिएको सबस्टेसन निर्माणको कुल लागत २० मिलियन डलर अर्थात् झन्डै दुई अर्ब ३२ करोड रहेको छ । अहिले निर्माण कम्पनी आफैँले दोभानबाट ढुंगेसाँघुको तेल्लाबुङसम्मको ट्र्याक खोलेको छ । साथै, मदन भण्डारी राजमार्गका ठाउँ–ठाउँमा स्तरोन्नतिको कामसमेत गरेर सामानको ढुवानी गरेको छ । 

हाल जिल्लामा उत्पादन भएको पाँच सय मेगावाटसम्म बिजुलीलाई कोसी करिडोरबाट पास गर्न सकिने इन्जिनियर झाले बताए । उनले अहिले टावरमा एकतर्फ मात्र तार लगाइएकाले पाँच सय मेगावाट मात्र बिजुलीलाई पास गर्न सकिने बताए । एकतर्फको तार भने यो ठेक्कामा नभएको र सो तारसमेत लगाएपछि हजार मेगावाटसम्म बिजुली पास गर्न सकिन्छ । कोसी करिडोर ढुंगेसाँघुबाट तेह्रथुमको वसन्तपुर सबस्टेसन हुँदै सुनसरीको इनरुवा स्टेसनमा जोडिने र केन्द्रीय प्रसारणमा जाने बताइएको छ । 

सुझावित समाचार