कांग्रेस कर्णाली सभापतिमा पौडेल पक्षबाट भूपेन्द्रजंग उम्मेदवार, देउवा पक्षमा अझै जुटेन सहमति

बिहिबार, १६ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापनइतर (पौडेल) समूहबाट भूपेन्द्रजंग शाहीको उम्मेदवारी हुने भएको छ । समूहबाट दुईजना आकांक्षी उम्मेदवार भए पनि शाही नै सभापतिमा भिड्ने भएका हुन् ।

पार्टीको भातृसंगठन तरुण दलका केन्द्रीय महामन्त्री भइसकेका उनले १४औँ महाधिवेशनअन्तर्गत प्रथम प्रदेश अधिवेशनबाट सभापति निर्वाचित हुन उम्मेदवार बनेका हुन् ।

शाहीले कांग्रेस रुपान्तरणका लागि ३० बुँदे प्रस्तावसमेत पेस गरिसकेका छन् । बिहीबारबाट सुरु हुने कांग्रेस प्रदेश अधिवेशनमा शुक्रबार मनोनयन र शनिबार मतदानको कार्यतालिका छ । 

आकांक्षीबीच सहमति जुटाउन देउवा पक्षकाे कसरत

संस्थापन (देउवा) पक्षबाट कर्णाली प्रदेश सभापतिमा तीनजना आकांक्षी रहेका छन् । जुम्लाबाट ललितजंग शाही, जाजरकोटबाट राजीवविक्रम शाह र कालिकोटबाट कालीबहादुर सहकारीको नाम सभापतिमा चर्चा छ । 

शाही र शाह संविधानसभा निर्वाचन २०७० मा निर्वाचित सांसदसमेत हुन् । सहकारी कालिकोट सभापति भइसकेका छन् । तीनजनामध्ये टिमभित्रबाट निर्विरोध छनोटका लागि नेताहरूले छलफल जारी राखेको र शुक्रबार बिहानसम्म टुंगो लाग्ने देउवा पक्षले जनाएको छ ।

स्रोतका अनुसार छलफलबाट कुनै टुंगो नलागेमा कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई सभापति उम्मेदवार बनाउने तयारी भइरहेको छ ।
 

सुझावित समाचार