मौलिक उत्पादन प्रवर्द्धन गर्न ढाका वस्तुको प्रदर्शनी गरिने

आइतबार, १२ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघले आगामी पुस २ देखि ४ गतेसम्म नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनी गर्ने भएको छ। 

ढाकाका मौलिक उत्पादनलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गर्न लागिएको प्रदर्शनीमा ४० बिक्री कक्ष राखिनेछन्। काटमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संघका संयोजक रमेश श्रेष्ठले परापूर्वकालदेखि नै ढाका कपडा उद्योग सञ्चालनमा रहेको बताउँदै यसबाट उत्पादित सामग्री तथा सिर्जना हुने रोजगारीले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने बताए। 

उनका अनुसार प्रदर्शनीमा विभिन्न स्थानका व्यवसायीलाई यस क्षेत्रमा भएका विकास तथा समस्याबारे एकापसमा अन्तर्क्रिया गरी प्रोत्साहन गर्ने वातावरण व्यवस्थापन गरिनेछ। यस क्षेत्रका स्वदेशी उत्पादन वृद्धि गरी विदेशबाट हुने आयात न्यूनीकरण गर्ने र मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्ने लक्ष्यका साथ प्रदर्शनी राखिएको छ। मुलुकमा करिब ५० हजार ढाका व्यवसायी छन्। प्रदर्शनीका क्रममा व्यवसायीको राष्ट्रिय भेला पनि गरिनेछ।

सुझावित समाचार