सर्लाहीको बरहथवामा एकै परिवारका तीनजना मृत फेला परेका छन्। आइतबार बरहथवा नगरपालिका– १ स्थित नयाँ बजारमा दुई सन्तानसहित एक महिला मृत फेला परेकी हुन्।
प्रहरीका अनुसार नयाँबजार बस्ने शिव हजाराकी श्रीमती अन्दाजी २५–२६ वर्षकी कविता हजरा, ६ वर्षकी छोरी र चार वर्षका छोरा मृत फेला परेका हुन्। कविता घरमै पासो लगाएर झुन्डिएको अवस्थामा र बालबालिका भुइँमा लडिरहेको अवस्थामा फेलापरेका जिल्ला प्रहरीका सूचना अधिकारी एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
बिहान स्थानीयले महिलाको शव झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पुर्याएको छ।
मृतक कविताका श्रीमान् शिव केही वर्षदेखि वैदेशिक रोजगारको क्रममा मलेसियामा रहेकाे पारिवारिक स्रोतले जनाएको छ। घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।