नेपाल आर्मीका सुवास तामाङ र एपिएफका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजी समूहमा फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको सेमिफाइनलमा सुवासले उदयपुरका नारायण भुजेल तथा प्रदीपले रुकुमका जीवनकुमार पुनलाई पराजित गरेका छन् ।
नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगिताको पुरुष ५४ केजी समूहमा आर्मीका प्रेम चौधरी आर्मी बीका सुदीप श्रेष्ठबाट वाकओभर पाउँदै फाइनलमा प्रवेश गरे ।
फाइनलमा उनको भेट भिपिबिसीका उपास गुरुङसँग हुनेछ । अर्को सेमिफाइनलमा उपासले स्विटका आङ पेम्बा शेर्पालाई हराए । पुरुष ५७ केजीमा एपिएफका पुरन राईले एचटुओका बुद्ध ग्याल्मो लामालाई निराश पार्दै अन्तिम दुईमा स्थान पक्का पारे । बक्समान्डुका सुरज महर्जनले कञ्चनपुरका रञ्जन भट्टलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाए । पुरुष ६० केजी समूहमा बिएनकेबीका इन्द्रबहादुर सुनारले दाङका अनिल पुन मगरलाई सेमिफाइनलमा पराजित गरे ।
सोही समूहमा कञ्चनपुरका महेन्द्र चन्दले बाँकेका नवीन घर्तीलाई पन्छाउँदै फाइनलमा स्थान सुरक्षित गरे । पुरुष ६३ केजीमा आर्मीका दोलबहादुर चौधरीले थानकोटका मनीष श्रेष्ठलाई सहजै पराजित गरे । एपिएफका सोनम सार्कीले कास्कीका सागर परियारलाई निराश पार्दै चौधरीसँगको फाइनल भेट पक्का पारे ।