प्रयोगमा आयो इ–पासपोर्ट, राष्ट्रिय परिचयपत्र अनिवार्य

बिहिबार, २ मंसिर, २०७८
डिजिटल संस्करण
प्रयोगमा आयो इ–पासपोर्ट, राष्ट्रिय परिचयपत्र अनिवार्य

सताब्दी पुरुष सत्यमोहन जोशीलाई इ–पासपोर्ट उपलब्ध गराउँदै परराष्ट्रमन्त्री नारायण खड्का

सरकारले हाल प्रचलनमा रहेको मेसिन रिडेबल पासपोर्ट (एमआरपी)लाई विस्थापित गर्ने लक्ष्यसहित इ–पासपोर्ट (विद्युतीय राहदानी) प्रयोगमा ल्याएको छ । बुधबार एक समारोहबीच परराष्ट्रमन्त्री नारायण खड्काले शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो इ–पासपोर्ट प्रदान गरेका हुन् । 

सर्वसाधारणका लागि भने १५ मंसिरदेखि देशभरबाट पूर्ण रूपमा वितरण थालिने राहदानी विभागले जनाएको छ । सन् २०३० सम्ममा सबैको हातमा इ–पासपोर्ट पुर्याउने विभागको लक्ष्य छ । इ–पासपोर्ट बनाउन चाहने व्यक्तिले आफ्नो विवरणसहित जिल्ला प्रशासन कार्यालयमार्फत फारम भर्न सक्नेछन् । यसका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । 

जिल्ला प्रशासनमा फारम भरेको करिब १५ दिनमा सेवाग्राहीले इ–पासपोर्ट पाउनेछन् । जिल्ला प्रशासनबाट पासपोर्ट बनाउँदा पाँच हजार रुपैयाँ लाग्छ । विभागका निर्देशक शरदराज आरनका अनुसार सेवाग्राहीले बुझाएको फारम र आवश्यक कागजपत्र जिल्ला प्रशासनले विभागको सर्भरमा अपलोड गर्नेछ । विभागले इ–पासपोर्ट जारी गरेर हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनेछ । 

आकस्मिक रूपमा पासपोर्ट बनाउनुपरे केन्द्रबाट एकै दिनमा पनि बनाउन सकिने विभागले जनाएको छ । विभागका अनुसार तीन दिनमा बनाउँदा १० हजार, दुई दिनमा बनाउँदा १२ हजार र एकै दिनमा बनाउँदा १५ हजार शुल्क लाग्छ । 

‘यो पासपोर्टमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ । चिपमा फोटो, औँठाछाप र व्यक्तिगत विवरण राखिन्छ । त्यसैले कागजी पासपोर्टभन्दा कैयौँ गुणा सहज, व्यवस्थित र सुरक्षित छ,’ निर्देशक आरनले भने ।

विद्युतीय पासपोर्ट ६ वटा रङमा जारी हुनेछ । सर्वसाधारणले चक्लेटी रङको पासपोर्ट पाउनेछन् । परराष्ट्रमन्त्री नारायण खड्काले विश्वका अधिकांश देशले प्रयोेग गर्ने प्रविधियुक्त विद्युतीय पासपोर्ट सहज र भरपर्दो रहेको बताए । ‘अब विभागमा पासपोर्ट बनाउन आउनेको भिडभाड लाग्नेछैन । यो पासपोर्ट छाप्न समय लाग्दैन र सेवाग्राहीले पनि घन्टौँ लाइनमा बसेर दुःख पाउनुपर्दैन,’ उनले भने । उनले इ–पासपोर्ट बनाउने काम अनलाइनमार्फत हुने भएकाले सहज हुने बताए । तर, यो पासपोर्टमा राखिने व्यक्तिगत विवरण फेरबदल गर्न झन्झट हुने भएकाले कागजात पेस गर्दा ध्यान दिन विभागका महानिर्देशक डोरनाथ अर्यालको आग्रह छ । 

यसअघि नेपालमा ६ प्रकारका मेसिन रिडेबल पासपोर्ट जारी गरिन्थ्यो । विभागले हालसम्म ७० लाखभन्दा बढी एमआरपी वितरण गरेको उनले बताए । अब इ–पासपोर्टले उक्त पासपोर्टलाई विस्थापित गर्दै जानेछ । 

कति खर्च लाग्छ ?
इ–पासपोर्ट ३४ पृष्ठको हुन्छ । जिल्ला प्रशासनबाट पासपोर्ट बनाउन विभागले पाँच हजार दस्तुर तोकेको छ । तर, आकस्मिक रूपमा केन्द्रबाट बनाउनुपरे १२ हजार बुझाउनुपर्छ । राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार पासपोर्ट ६६ पृष्ठको बनाउन चाहेमा दोब्बर अर्थात् १० हजार दस्तुर लाग्नेछ । विदेश गइरहनुपर्ने व्यक्तिले ६४ पृष्ठको राहदानी पनि बनाउन सक्ने उनले बताए । 

कार्ड छाप्न ४८ करोडमा सम्झौता
विभागले इ–पासपोर्ट प्रयोगमा ल्याउन नौ महिनाअघि नै फ्रान्सको आइडिइएमआइए आइडेन्टी एन्ड सेक्युरिटीसँग सम्झौता गरेको थियो । उक्त कम्पनीसँग दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको महानिर्देशक अर्यालले बताए । इ–पासपोर्टलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले भरपर्दो र सुरक्षित मानेको छ ।

सुझावित समाचार