ट्याक्टर दुर्घटनामा दुुईको मृत्यु

बुधबार, १ मंसिर, २०७८
डिजिटल संस्करण

रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं १ दुरागाउँमा भएको ट्याक्टर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।  

मंगलबार साँझ लिखु तामाकोसी गाउँपालिकाको सैपुबाट विद्यालयको लागि गिटी लिएर दुरागाउँतर्फ जाँदै गरेको ना ५ त ७२८४ नम्बरको ट्याक्टर दुरागाउँको भिरमा दुर्घटना हुँदा दुरागाउँ निवासी ४५ वर्षीय उद्धव पौडेको घटनास्थलमै ज्यान गएको हो। दुुर्घटनामा परी घाइते भएका दुरागाउँकै दुर्गा भुजेलको उपचारको क्रममा बुधबार दिउँसो प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए। 

त्यसैगरी सोही ट्याक्टरमा सवार भुजेलकी श्रीमती मीनकुमारी भुजेललाई जिल्लामा उपचार सम्भव नभएपछि राजधानीको ट्रमा सेन्टरमा पठाइएको र उनको हाल उपचार भइरहेको प्रहरीले जनाएको छ। 

ट्याक्टरमा सवार चारजनामध्ये चालक दीपेन्द्र थापा भने ट्याक्टरबाट हाम फालेर बाँच्न सफल भएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ। 

सुझावित समाचार