सैलुनमा ट्रयाक्टर पस्दा एकको मृत्यु, तीन घाइते

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

सप्तरीको खडग नगरपालिका– ७ कल्याणपुरमा सोमबार अपराह्न कपाल काट्ने सैलुनमा पसेको ट्र्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । 

पूर्व–पश्चिम सडकअन्तर्गत कल्याणपुर बसबिसौनीनजिकै रहेको सैलुनमा अनियन्त्रित भई स.१त ७०१९ नम्बरको ट्र्याक्टर ठक्कर पसेको थियो । ट्र्याक्टरको ठक्करबाट खडग नगरपालिका– ६ चकवाकी करिब ७० वर्षीया अनारदेवी पासवानको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

खडग– ९ लालपट्टीका ४५ वर्षीय श्याम ठाकुर, ३५ वर्षीय किसनुलाल ठाकुर, राजविराज नगरपालिका– ९ मलेठका ३५ वर्षीय रवीन्द्र ठाकुर घाइते भएका छन् । गम्भीर अवस्थाका श्यामलाई थप उपचारका लागि विराटनगर रिफर गरिएको छ । किसुनलाल तथा रवीन्द्रको कल्याणपुरस्थित युनिभर्सल अस्पतालमा उपचार भइरहेको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार खडक– ६ चकवा घर भएका ट्र्याक्टरचालक २३ वर्षीय अर्जुन चौधरी पनि घाइते भएका छन् । उनको देब्रे आँखामा चोट लागेको छ । उनको प्रहरी नियगरानीमा कल्याणपुरमा उपचार भइरहेको डिएसपी काफ्लेले जानकारी दिए ।

See More On

सुझावित समाचार