नक्कली लालपुर्जामा १९ करोड कर्जा प्रकरण : बैंकिङ कसुर मुद्दामा अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

नक्कली लालपुर्जाका आधारमा कुमारी बैंकबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको घटनामा बैंकिङ कसुर अपराधअन्तर्गत पनि अनुसन्धान हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सोमबार प्रहरीलाई बैंकिङ कसुर मुद्दामा अनुसन्धान गर्न लिखित निर्देशन दिएको हो । 

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले लिखत किर्तेसम्बन्धी मुद्दामा मात्र अनुसन्धान गरेको थियो । अपराधको प्रकृति बैंकिङ कसुरसँग समेत मिल्ने भएको भन्दै उसले यससम्बन्धी अनुसन्धान गर्न भनिएको सरकारी वकिल कार्यालयका एक अधिकारीले बताए । सोही आधारमा सिआइबीले उच्च अदालत पाटनबाट पक्राउ परेका पाँच आरोपीलाई थुनामा राख्न म्याद थप गरेको छ । 

गायक योगेश्वर अमात्यको बाराको विश्रामपुरमा रहेको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामक कम्पनीलाई बिक्री गरेको देखाएर नक्कली लालपुर्जा बनाई कुमारी बैंकबाट १९ करोड कर्जा प्रवाह भएको हो । यसमा संलग्न पाँचजना प्रहरी हिरासतमा छन् । 

कुमारी बैंकको वीरगन्ज शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, धितो मूल्यांकनकर्ता राजेश चौरसिया तथा नक्कली लालपुर्जाका आधारमा कर्जा लिने एसकुमार महर्जन र मुक्तिलाल गौतम तथा बिचौलिया बनेका कुसन प्रधानलाई सिआइबीले २५ दिनअघि पक्राउ गरेको थियो । सो कम्पनीले बैंकको न्युरोड शाखामा कर्जाका लागि निवेदन दिएको थियो । न्युरोड शाखाले धितो मूल्यांकन गरेर पठाउन वीरगन्ज शाखालाई पत्राचार गरेको थियो । वीरगन्ज शाखाका कर्मचारी ठाकुरले धितो मूल्यांकनको नक्कली कागजपत्रमा हस्ताक्षर गरेका आधारमा उनलाई पक्राउ गरेको हो । बैंकका अन्य केही कर्मचारी फरार छन् । कर्जा दिने अन्तिम निर्णय भने केन्द्रीय कार्यालयबाटै भएको थियो । बैंकिङ कसुरसम्बन्धी अपराधमा नक्कली कागजपत्रका आधारमा कर्जा लिनेका साथै दिनेसमेत दोषी हुने उल्लेख छ । 

नक्कली लालपुर्जा भएको खुलेपछि अर्काे धितो राखेर कर्जा उठाउने प्रयास 
गायक अमात्यकै सूचनाका आधारमा प्रहरीले यस प्रकरणको अनुसन्धान थालेको थियो । अमात्यले आफ्नो जग्गाको नक्कली लालपुर्जा राखेर कर्जा प्रवाह भएकोे सुनेपछि त्यसबारे अनुसन्धानका लागि निवेदन दिएका थिए । अनुसन्धानको क्रममा उनको जग्गा डेनियल ट्रेडिङ नामक कम्पनीको नाममा देखाएर कर्जा प्रवाह भएको भेटिएको थियो । मालपोत कार्यालयमा भने सो जग्गा अमात्यकै नाममा छ । नक्कली लालपुर्जा भएको खुलेपछि पछि बैंकले अर्काे धितो राखेर कर्जा उठाउने प्रयास गरेको थियो । समयमै ‘गल्ती सुधार’ भएकाले बैंकलाई घाटा नभएको बैंकका एक अधिकारी बताउँछन् ।    

सुझावित समाचार