अस्ट्रेलिया टी–२० विश्वकप च्याम्पियन

सातौँ संस्करणको टी–२० पुरुष विश्वकपको फाइनलमा अस्ट्रेलियासँग न्युजिल्यान्ड आठ विकेटले पराजित

सोमबार, २९ कार्तिक, २०७८
डिजिटल संस्करण
अस्ट्रेलिया टी–२० विश्वकप च्याम्पियन

आइसिसी टी–२० विश्वकपको ट्रफीका साथ अस्ट्रेलियाली खेलाडी । तस्बिर एजेन्सी

अस्ट्रेलिया पहिलोपटक आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता विश्व च्याम्पियन बनेको छ । दुबईमा आइतबार सम्पन्न सातौँ संस्करणको फाइनलमा अस्ट्रेलियाले छिमेकी राष्ट्र न्युजिल्यान्डलाई आठ विकेटले हराउँदै टी–२० विश्वकपको उपाधि हात पारेको हो । अस्ट्रेलियाले जित्न नसकेको टी–२० विश्वकपको ट्रफी पनि आप्mनो पोल्टामा राख्यो । आइसिसीले आयोजना गरेको क्रिकेट प्रतियोगितालाई अस्ट्रेलियाले सर्वाधिक आठपटक जितेको छ । 

अस्ट्रेलियाले पाँचपटक एकदिवसीय विश्वकप, दुईपटक च्याम्पियन्स ट्रफी तथा एकपटक टी–२० विश्वकप हात पारेको छ । न्युजिल्यान्डले भने लगातार तीन विश्वकप फाइनल गुमाएको छ । सन् २०१५ र सन २०१९ को एकदिवसीय विश्वकप फाइनल न्युजिल्यान्डले गुमाएको थियो । सन् २०१० मा अस्ट्रेलिया पहिलोपटक फाइनल पुग्दा इंग्ल्यान्डसँग सात विकेटले पराजित भएको थियो । 

पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा अस्ट्रेलियाले १८.५ ओभरमा केवल दुई विकेटको क्षतिमा एक सय ७३ रन जोड्दै टी–२० विश्वकपकै नयाँ विजेताको ट्रफी उचाल्यो । अस्ट्रेलियाको जितमा म्यान अफ दी म्याच मिचेल मार्सले सर्वाधिक ७७ रनको योगदान दिए । उनले ५० बलमा ६ चौका र चार छक्का प्रहार गरे । 

यसैगरी, ग्लेन म्याक्सवेलले १८ बलमा चार चौका र एक छक्का प्रहार गरी २८ रनमा नटआउट रहे । म्याक्सवेलले टिम साउथीले फ्याँकेको बललाई चौकाका रूपमा प्रहार गरेका थिए । म्याक्सवेल र मार्सबीच तेस्रो विकेटका लागि ६६ रनको साझेदारी भएको थियो । अस्ट्रेलिया टी–२० विश्वकपको पहिलोपटक च्याम्पियन बन्दा म्यान अफ दी सिरिज डेभिड वार्नरले पुनः एकपटक जितको आधार बनाएका थिए । उनले ३८ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५३ रनको योगदान दिए । वार्नरले मिचेल मार्ससँग दोस्रो विकेटका लागि ९२ रनको बलियो साझेदारी गरेका थिए ।   कप्तान आरोन फिन्च (५) को विकेट गुमाउँदा अस्ट्रेलिया १५–१ को कमजोर अवस्थामा थियो । वार्नर इनिङ्सको १२.२ ओभरमा ट्रेन्ट बोल्टद्वारा बोल्ड 
भएका थिए । 

न्युजिल्यान्डको कमजोर सुरुवात
यसअघि ब्याटिङ गरेको न्युजिल्यान्डले पावर प्लेमा सोचेजस्तो सुरुवात गर्न सकेन । मार्टिन गुप्तिल र डार्यल मिचेलले पहिलो विकेटका लागि ३.५ ओभरमा २८ रनको साझेदारी गरे । फर्ममा रहेका मिचेललाई जोस हेजलउडले विकेट किपर वाडेबाट क्याच आउट गराए । मिचेलले आठ बलमा ११ रन मात्र जोडे । 

कप्तान केन विलियम्सनले मार्टिनसँग दोस्रो विकेटका लागि ४८ रन बटुले । क्रिजमा सेट भएका ब्याट्सम्यान मार्टिनको विकेट एडम जाम्पाले लिए । स्विप सट लगाउँदा मार्टिन स्टोनिसबाट क्याच आउट भए । मार्टिनले ३५ बलमा तीन चौकाको सहयोगमा २८ रन जोडेका थिए । न्युजिल्यान्डले ११.१ ओभरमा ७६–२ को प्रदर्शन गरेको थियो । यो अवस्थामा अस्ट्रेलियाले खेल पूर्णरूपमा नियन्त्रणमा राखेको थियो । 

 विलियम्सनको आक्रामक ब्याटिङ
न्युजिल्यान्डका कप्तान विलियम्सनले मार्टिनको विकेट गुमाएसँग विस्फोटक रूपमा प्रस्तुत भए । विलियम्सनले अस्ट्रेलियाका मिचेल स्टार्कमाथि खनिए । स्टार्कविरुद्ध १२ बल समना गर्दा विलियम्सनले ३९ रन बटुले । इनिङ्सको १६औँ ओभरमा विलियम्सनले स्टार्कविरुद्ध २२ रन खोसे । यस ओभरमा उनले चार चौका र एक छक्का ठोके । टी–२० विश्वकपकै पहिलो शतकीय इनिङ्सतर्फ अग्रसर भएका विलियम्सनले आफ्नो विकेट १७.५औँ ओभरमा गुमाए । उनलाई हेजलउडले आउट पारे । लङ अफमा फिल्डिङ गरेका स्टिभ स्मिथले विलियम्सनको सहज क्याच समाते । 

विलियम्सनको विकेटसँगै खेल अस्ट्रेलियातर्फ ढल्कियो । हेजलउडले आफ्नो व्यक्तिगत तेस्रो ओभरमा ग्लेन फिलिप्स र विलियम्सनका महत्वपूर्ण विकेट लिएका थिए । विलियम्सनले ४८ बलमा १० चौका र तीन छक्काको सहयोगमा सर्वाधिक ८५ रन जोडे । फिलिप्सले समान एक छक्का र चौकाको सहयोगमा १८ रन बनाए ।

 हेजलउडका तीन विकेट 
फिलिप्स र विलियम्सनबीच तेस्रो विकेटका लागि ११.१ देखि १७.२ ओभरबीच ६८ रनको साझेदारी भएको थियो । इंग्ल्यान्डविरुद्ध विस्फोटक ब्याटिङ गरेको जेम्स निसिमले सात बलमा १३ रन जोडे ।  अस्ट्रेलियाका लागि हेजलउड सर्वाधिक सफल बलर सिद्ध भए । उनले चार ओभरमा १६ रन खर्चेर तीन विकेट लिए । जाम्पाले २६ रनमा एक विकेट हात पारे । अस्ट्रेलियाका मुख्य बलर स्टार्क खर्चिलो भए । चार ओभरमा ६० रन खर्चँदा पनि स्टार्क विकेटविहीन भए ।

सुझावित समाचार